नेकपाका सांसद रावल पक्राउ

सुदूरपश्चिम प्रदेशसभा सदस्य रहेका अक्कल रावल बलात्कार प्रयास (जबरजस्ती करणी उद्योग) आरोपमा पक्राउ परेका छन् । यही फागुन १५ गते एक महिलाले दायर गरेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीले रावललाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप गिरीले जानकारी दिए । एसपी गिरीका अनुसार जिल्ला अदालत कैलालीले फागुन १५ गते नै रावललाई पक्राउ गर्न अनुमति दिएको थियो । बुधबार प्रदेशसभा बैठकमा सहभागी हुन धनगढी आएको अवस्थामा रावललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले रावल पक्राउ गरेको विषयमा सुदूरपश्चिम प्रदेशसभा र प्रदेशसभा अध्यक्ष (सभामुख)लाई समेत जानकारी गराइएको जनाएको छ ।

रावल अछामको क्षेत्र नम्बर २ को प्रदेशसभा (क) बाट प्रत्यक्षतर्फ प्रदेशसभामा निर्वाचित भएका थिए । उनी तत्कालीन नेकपा माओवादी केन्द्रबाट संयुक्त वाम गठवन्धनको उम्मेदवारका रुपमा प्रदेश सांसदमा निर्वाचित भएका थिए ।