सार्वजनिक भेला र समारोह नगर्न कास्की प्रशासनको आग्रह

विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारी फैलिएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले सार्वजनिक स्थलमा मेला, भेला, भेटघाट र समारोहहरु नगर्न आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले सार्वजनिक सूचनामा जारी गर्दै धेरै भिडभाड तथा जनसमुदाय भेला हुने सार्वजनिक कार्यक्रम नगर्न आग्रह गरेका हुन् ।

प्रशासनको सूचनामा नेपालमा कोरोना संक्रमण नभए पनि पर्यटकीय सहर पोखरामा सतर्कता अपनाउन र सरसफाईमा ध्यान दिन पनि आग्रह गरिएको छ ।

चीनको हुबेई प्रान्तको बुहान शहरबाट फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण विश्वभरि अहिले ९० हजार भन्दा बढीमा भाइरस भएको पुष्टि भइसकेको छ । गत डिसेम्बरको अन्त्यतिरबाट सुरु भएको भाइरसका कारण मृत्यु हुनेको संख्या ३ हजार ९ सय नाघेको छ ।