प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो प्रकरणको छानविनको माग गरेका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा आफ्ना कुरा राख्दै देउवाले सेक्युरिटी प्रेस प्रकरणमा पूर्वसंचारमन्त्री बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको एक हप्ता पुगिसक्दा पनि छानविन नहुनुको पछाडि सरकारको नियत राम्रो नभएको बताए ।
उनले प्रधानमन्त्रीलाई अडियोमा पूर्वसंचारमन्त्रीले हामीलाई कति आउँछ भन्ने बोलेको अडियो प्रस्ट सुनिएको र अडियोमा हामी भनेको कसलाई भनेको र हामीभित्र को को पर्छन् प्रष्ट पारिदिन आग्रह गरेका छन् ।
उनले भने, ‘संचारमन्त्रीले हामीलाई कति आउँछ भन्ने बोलेको अडियो प्रस्ट सुनिन्छ। हामी भनेको कसलाई भनेको हो, हामी भित्र के को पर्दछ।प्रधानमन्त्रीले प्रस्ट पार्नुपर्छ।’
उनले प्रधानमन्त्रीजस्तो व्यक्तिले छानविन गर्नुभन्दा पहिले नै अडियो नक्कली भएको भन्नु लाजमर्दो कुरा भएको बताए। उनले त्यसले छानविन प्रभावित हुने भन्दै प्रधानमन्त्रीको बोलीको विश्वसनीय समेत कमजोर भएको जिकिर गरेका छन् ।






