भारतमा गत पुस र माघ २९ गते नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले गरेको राजनीतिक भेटवार्ताले काँग्रेसभित्र तरङ्ग पैदा गरेको छ । काँग्रेसभित्र भारतलाई हेर्ने दृष्टिकोणमा एकमत छैन । संस्थापन पक्ष पछिल्लो समय भारतप्रति आक्रामक देखिएको छ ।
भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रामण र कालापानी सीमा विवादमा भारतको काँग्रेसको संस्थापन पक्षबाट चर्को विरोध भयो ।
जसको अग्रपंक्तिमा सभापति देउवा, उपसभापति विमलेन्द्र निधि र प्रवक्ता विश्वप्रकाश शर्मा देखिएका थिए । कालापानीबारे देउवाले विरोध जनाउँदा केन्द्रीय सदस्य शेखर कोइराला प्रतिवादमै उत्रिएका थिए ।
काँग्रेसको इतिहासमा ‘भारतको विस्तारवाद, मुर्दावाद’ लेखिएका व्यानरमा भ्रातृ संस्था सडकमा देखिए । देउवाकै सुझावअनुसार सीमा विवादलाई लिएर नेविसंघले करिब एक महिनासम्म आन्दोलन गरेको थियो ।
भाजपा पूर्वअध्यक्षसमेत रहेका रक्षामन्त्री राजनाथ सिंहसँग भटेर फर्किएका वरिष्ठ नेता पौडेलले पार्टीका आन्तरिक बैठकमा देउवासँग भारत रिसाएको सन्देश सुनाएका थिए । शुक्रबार देउवा निवास बूढानीलकण्ठमा संस्थापन पक्षीय नेताको बैठकमा संस्थापनइतर पक्षको भारत साइनोका विषयमा छलफल भएको थियो ।
बैठकमा सहभागी एक नेताले भने, ‘नेपालको पछिल्लो राजनीति, केही नेताहरुको भारत मोह र पार्टीको आन्तरिक विषयमा छलफल भयो ।’ ती नेताका अनुसार संस्थापन पक्षले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका केन्द्रीय सदस्य शेखर कोइरालाबीचको भेटवार्तालाई सहज रुपमा लिएको छैन ।
ती नेताले भने, ‘आफ्नो पार्टीबाट आप्ठ्यारो महसुस हुँदा प्रधानमन्त्रीजीले प्रतिपक्षीसँग कुरा गर्न खोज्नु स्वभाविक हो । तर काँग्रेसको आधिकारिक धारणा एउटा केन्द्रीय सदस्य (शेखर)सँग गरिनुका पछाडि आशङ्का गर्ने ठाउँ रहन्छ ।’
गत विहीबार विहान ८ बजेदेखि १० बजेसम्म प्रधानमन्त्री ओली र नेता कोइरालाबीच कुराकानी भएको थियो । राष्ट्रिय, अन्तर्राष्ट्रिय र देउवाको आन्तरिक गतिविधि चासोका साथ नियालिरहेका कोइरालासँग ओलीले भेटवार्ता गर्नुलाई अर्थपूण रुपमा हेरिएको छ ।
काँग्रेसको संस्थापन पक्षले उनीहरुको भेटवार्तालाई भारतीय दृष्टिकोणबाट व्याख्या गरेको छ । संस्थापन पक्षको विरोधको स्वर जहाँ ठोकिन्छ, त्यहाँ नै इतर पक्षका नेताहरुको हिमचिम बढ्दो छ ।
उत्तरप्रदेशमा कोइराला इन्डिया फाउन्डेसन, नीति अनुसन्धान प्रतिष्ठान र नेपाल–भारत च्याम्बर अफ कमर्स इन्डस्ट्रीले संयुक्त रूपमा माघ २९ देखि फागुन १ सम्म आयोजना गरेको कार्यक्रममा शशांकका विश्वास पत्रसमेत रहेका महामन्त्रीका आकांक्षी मिनेन्द्र रिजाल पनि सहभागी थिए ।
आयोजकले योगी सहभागी हुने कार्यक्रममा शशांक र रिजाललाई बोलाउनु पनि अर्थपूर्ण रहेको बताइएको छ ।
नेपाली काँग्रेसको संस्थापनइतर पक्षका नेताहरुको भारत ‘साइनो’बाट संस्थापन पक्ष सशंकित देखिएको छ । उनीहरुको राजनीतिक भेटवार्ताले विशेषत सभापति शेरबहादुर देउवामा बेचैनी थपिदिएको छ । पार्टी १४ औँ महाधिवेशनको तिथि–मिति सार्वजनिक भएपछि इतर पक्षबाट भारत आउ–जाउलाई संस्थापन पक्षले चासोका साथ हेरेको पाइएको छ ।






