सत्तारुढ नेपाल कम्यूष्टि पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्ष बामदेव गौतम नै राष्ट्रिय सभामा मनोनित हुने स्पष्ट पारेका छन् ।
शुक्रबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा लैजान पार्टीले सिफारिस गरेको र त्यो सिफारिस सर्वसम्मत भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मान्नै पर्ने बताएका छन् ।
‘तपाइर्हंरुले थाहा पाइसक्नु भएको छ । राष्ट्रिय सभामा एउटा सिट बाँकी छ । त्यो क्याविनेटबाट प्रस्ताव गर्ने र राष्ट्रपतिबाट मनोनयन गर्ने । यसमा सचिवालयको सर्वसम्मत निर्णय अनुसार वामदेव गौतमलाई पठाउने भन्ने सुझाव सरकारलाई दिएको छ’, उनले भने, ‘सचिवालयले गरेको निर्णय प्रधानमन्त्रीले मान्नै पर्छ र मान्नु हुन्छ ।’
गत बुधबार बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने मन्त्रिपरिषद्ले सिफारिस गर्ने निर्णय गरेको थियो। तर प्रधानमन्त्री ओलीले उक्त निर्णय आफूलाई मान्य नहुने भन्दै अहिलेका अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिन चाहेको बताएका थिए ।






