एसिड हान्नेलाई ८ वर्ष कैद, १ करोड उपचार खर्च भराइयो

जिल्ला अदालत मकवानपुरले युवतीमाथि एसिड प्रहार गर्ने भारतीय नागरिक दिलीपराज केशरीलाई ८ वर्ष कैदसहति एक लाख जरिवाना र उपचार खर्च भराउन फैसला सुनाएको छ ।

अभियुक्तलाई उपचार खर्च एक करोड १४ लाख ८५ हजार रुपैया भराउन पनि अदालतले आदेश दिएको छ। जिल्ला न्यायाधीश कमलराज विष्टको बिहीबारको इजलाशले भारत महाराजगञ्ज अमरपूर्वन–६ का केशरीविरुद्ध उक्त फैसला सुनाएको हो।

अभियुक्तलाई भगाउने काम गरेका सन्जयकुमार मण्डललाई २ वर्ष ६ महिना कैद र ४० हजार रुपैया जरिवानाको फैसला सुनाएको छ।

केशरीलाई साविकको मुलुकी ऐन ज्यान सम्वन्धी महल ८ वर्ष कैद र एक लाख रुपैया जरिवानासहित उपचार खर्च एक करोड १४ लाख ८५ हजार भराउने फैसला गरेको हो ।

केशरीले २०७० सालमा हेटौंडा बजारमा आफ्नै घरको पसलमा रहेकी हेटौडा उपमहानगर–२ की २० वर्षीया विन्दावासिनी कंसाकारको अनुहारमा एसिड प्रहार गरेका थिए।