नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पछिल्ला घटनाका कारण पार्टी विभाजित हुने र आन्दोलन नै विसर्जनमा जाने प्रश्नहरू उठेको बताएका छन् ।
नेकपा बागमती प्रदेश कमिटीको राजनीतिक प्रशिक्षण तथा भेला कार्यक्रममा नेता नेपालले पार्टी विभाजन हुने विषयमा प्रश्न उठेकाले प्रस्ट हुनुपर्ने बताए ।
उनले भने, “पत्रपत्रिकामा पढेर तपाईंहरूको दिमाग खराब भएको छ, कतै यो पार्टी भताभुङ्ग हुने त होइन, कतै यो पार्टी विभाजित बन्ने त होइन, पार्टी मात्रै होइन यो आन्दोलन नै कतै विसर्जनको दिसामा जाने त होइन ? यस्ता प्रश्नहरू पनि नउठ्ने गरेका होइनन् । उठ्छन र त्यसको बारेमा हामी प्रस्ट हुनु पर्दछ ।” उनले यो आन्दोलनलाई विसर्जनको दिशामा जान र पार्टीलाई विघटनको दिशामा जान नदिने बताए ।
७० वर्षको लामो यात्रा पार गरेर अहिलेको अवस्थामा आइपुगेकाले पार्टीभित्र उब्जिएका समस्या देखेर नआत्तिन कार्यकर्ताहरूलाई आग्रह गरे । उनले पार्टीभित्र समस्या पनि हुने र समाधान पनि हुने भएकाले विचलित हुनुपर्ने आवश्यकता नरहेको बताए ।
उनले ऐतिहासिक कोसेढुङ्गाका रूपमा दुई पार्टीलाई एकताबद्ध गरेर नेपाली जनतालाई विश्वास दिलाउन सफल भएको बताए । एकीकरण भएको झन्डै दुई वर्ष भइसक्दासमेत एकताका केही काम टुङ्ग्याउन नसकेको भए पनि त्यसैमा मात्रै चिन्तित हुनुपर्ने आवश्यकता नरहको बताए ।
उनले एकीकरणका काममा विलम्ब भएकोले छिटो भन्दाछिटो सम्पन्न गरेमात्र कार्यकर्तामा एकताको अनुभुति हुने बताए ।
नेता नेपालले एकता संघर्ष र एकता निरन्तर चलिरहने प्रकृया भएको समेत बताए । उनले देशमा कम्युनिस्ट पार्टीबाहेक अन्य पार्टीलाई जनताले विश्वास नगरेको उल्लेख गर्दै नेकपाले आफ्नो योग्यता प्रदर्शन गर्न सक्नुपर्ने र एक्लो छौं, दुईतिहाई छौं भनेर दम्भको सिकार बन्न नहुने पनि बताए ।






