पोखरा महानगरपालिका वडा नं. ९ मा भएको बसपार्कको स्थिति बेहाल अवस्थामा छ । बसपार्कको नाममा भएको जग्गा अतिक्रमित भएको अवस्था छ । र विशेषगरी म वडाध्यक्षमा निर्वाचित भएर आएदेखि नै व्यवस्थित बसपार्क बनाउनुपर्छ भनेर लागिरहेको छु ।
म कुनैबेला नेपाली कांग्रेसको सचिव हुँदैगर्दा त्यतिबेला राज्य पुनसंरचना हुँदैगर्दा महानगरपालिका बनाउनका लागि विभिन्न मापदण्ड हुन्छ । त्यही मापदण्ड अन्तर्गत व्यवस्थित बसपार्क हुनुपर्छ भन्ने थियो । महानगरपालिका बन्यो ।
महानगरपालिका बनिसकेपछि पनि व्यवस्थित बसपार्क बनेन । पोखरा व्यवस्थित बसपार्क नभएको महानगरपालिका हो । मैले बसपार्क बनाउनुपर्छ भनेर पटक–पटक महानगरपालिका र प्रदेश सरकारसंग कुरा राखेको छु । तर अझै बसपार्क बन्ने छाँटकाट छैन ।
बसपार्क बन्नुपर्छ, यसमा द्विविधा छैन । बसपार्क निर्माणमा ठूलो लगानी हुने भएकाले यो जिम्मेवारी मुख्यतः महानगरपालिका र प्रदेश सरकारले नै हो । बसपार्क निर्माणमा वडाको तर्फबाट खेल्नुपर्ने सबै भूमिका निर्वाह गरिएको छ बसपार्क नबन्नुमा महानगर र प्रदेश सरकार जिम्मेवार र संवेदनशील नभएर होे ।
आफू वडाध्यक्ष बनेर आइसकेपछि हामीले बारम्बार बसपार्क बनाउनै पर्छ भनेर बसपार्कको वस्तुस्थितिबारे महानगर र प्रदेश सरकारलाई जानकारी गराइसकेका छौं । २०७५ फागुन १० गतेको महानगरको कार्यपालिकाको बैठकले मेरो अध्यक्षतामा र पोखरा–७ र ८ का वडाध्यक्षहरू सदस्य र पोखरा–९ का वडासचिव सदस्य सचिव रहनेगरी ४ सदस्यीय बसपार्क छानविन समिति गठन भएको थियो । यो समितिलाई २०७५ को चैत्र मशान्तसम्ममा छानविन प्रतिवेदन बुझाउने समयसीमा तोकिएको थियो ।
त्यो समितिले दिनरात नभनिकन बसपार्कको छानविन गर्यौं । यथार्थ वस्तुस्थिति व्यख्यासहित २८१ पेजको प्रतिवेदन २०७६ वैशाख ६ गतेको कार्यपालिकाको बैठकमा पेश गरेका थियौं । अब त्यही प्रतिवेदनको आधारमा महानगरपालिका र प्रदेश सरकारले पोखरामा व्यवस्थित बसपार्क बनाउन सक्छ ।
मैले बारम्बार भनिरहेको छु, बसपार्क बनाउन ३ चरणमा काम गर्न सकिन्छ । १.छानविन गराउनुपर्ने हो त्यो काम सकिएको छ । २. बसपार्कको जग्गामा रहेका अव्यवस्थित बसोबासीहरूको व्यवस्थापन गरेर बसपार्क बनाउनु पर्छ । ३. वडा तहबाट गर्ने काम सकिएको छ । अब बसपार्क बनाउने जिम्मेवारी महानगरपालिका र प्रदेश सरकार तात्नुपर्छ ।
मैले बारम्बार ताकेता गरेपछि महानगरको गत कार्यपालिकाको बैठकमा मेयर मानबहादुर जिसीले पनि बसपार्कको कुरा उठाउनुभएको छ । उहाँले यो विषयमा बहस चर्काउनुपर्छ भन्नुभएको छ ।
महानगरको छैटौं नगरसभामा मैले बसपार्कको कुरा उठाएपछि त्यही कुरालाई कोड गरेर गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पनि बसपार्क बनाउनुपर्छ भन्नुभएको छ । यो विषयमा छलफल त अघि बढेको छ तर मूर्तरुप लिन सकेको छैन ।
बसपार्कको जग्गा
बसपार्कको नाममा २०५ रोपनी जग्गा छ भनिएको थियो । २०५ रोपनीभित्र नेशनल ट्रेडिङ, साल्ट ट्रेडिङ लगायत बसपार्क अगाडि रहेका जग्गाहरू समेत गरी हो । साथै व्यक्तिको नाममा रहेको जग्गा जुन अहिले बाँस्तेला कम्प्लेक्स छ, त्यो जग्गा पनि बसपार्कको २०५ रोपनीभित्रै हो । यी सबै जग्गा खासगरी पोखरा उपत्यका नगर विकास समितिको हो ।

अहिले २०५ रोपनी जग्गा सबैतिरबाट अतिक्रमित भएर करिब करिब ३०÷३१ रोपनीमात्र छ । बाँस्तोला कम्प्लेक्स, साल्ट र नेशनल ट्रेडिङलाई नगर विकास समितिले नै जग्गा दिएको हो । यो विषयमा महानगर र प्रदेश सरकारले नै ध्यान दिनुपर्छ । बसपार्क छानविन समितिले दिएको प्रतिवेदनको आधारमा यथाशीघ्र बसपार्क बनाउनुपर्छ ।
(वडाध्यक्ष लामिछानेसंग गरिएको कुराकानीमा आधारित)






