वामदेव चाडै सांसद !

२०७४ को चुनावमा लज्जास्पद पराजय व्यहोरेका नेकपा उपाध्यक्ष वामदेव गौतम फेरि सांसद बन्ने भएका छन् ।

कहिले सांसदलाई राजीनामा दिन लगाएर चुनाव लड्ने, कहिले उपचुनाव लड्ने चर्चा चले पनि त्यसो गर्ने हिम्मत नगरेका उनी मनोनित भएर राष्ट्रिय सभा जान लागेका हुन् । राष्ट्रियसभा सदस्यले पनि प्रधानमन्त्री हुन पाउनुपर्ने प्रावधान नभएकाले त्यसको सांसद नहुने अडान उनले यसअघि राखेका थिए ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभाको सिटमा उनलाई लैजाने तयारी भएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि सोही स्थानमा गौतमलाई मनोनयन गर्ने तयारी भएको स्रोत बताउँछ ।

एमसिसी अध्ययन कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न शनिबार बसेको नेकपा सचिवालय बैठकमा गौतमलाई राष्ट्रिय सभामा लैजाने समझदारी बनेको बताइन्छ ।  । उनलाई राष्ट्रिय सभामा लैजाने सहमति भए पनि औपचारिक निर्णय हुन बाँकी रहेको नेकपा स्रोतले जनाएको छ ।

अनुकूल परिस्थितिमा संविधान संशोधन गर्ने प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताको आश्वासनपछि गौतमले आफ्नो पुरानो अडान छाडेका हुन् ।