अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता अध्ययन गर्न बनेको नेकपाको कार्यदलका संयोजक झलनाथ खनालले देशको स्वाभिमान भन्दा ५० अर्ब ठूलो हुनै नसक्ने बताएका छन् ।
उनले एमसिसीसँग जोडिएका सम्झौतामा गम्भीर र आपत्तिजनक बुँदाहरु भेटिएको जनाए । कार्यदलले शुक्रबार साँझ पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाइसकेको छ ।
खनालले भने, ‘एमसिसी यथास्थितिमा अनुमोदन गरे नेपालको राष्ट्रिय हित हुँदैन भन्ने हाम्रो निष्कर्ष हो ।’ उनले सम्झौतामा ‘न्युयोर्क स्टेट’को कानुन नेपालमा लागू हुनेसम्म उल्लेख रहेको सुनाए ।
मूल सम्झौतासँगै यसबारे १४ वटा भित्री सम्झौता रहेको सुनाउँदै उनले अर्थमन्त्रालयसँग सम्झौता हुनु तर परराष्ट्र मन्त्रालयलाई पत्तै नहुनु शंकास्पाद भएको उनले जनाएका छन् ।
देशको स्वतन्त्रता, स्वाभिमान, सार्वभौमसत्ता, राष्ट्रिय अखण्डताभन्दा ठूलो कुरा दुनियाँमा केही नभएको जनाउँदै उनले त्यो रकम नेपालका लागि ठूलो नभएको उल्लेख गरे । कार्यदलले सर्वसम्मत प्रतिवदेशन पेश गरेको उल्लेख गर्दै उनले ३ दिनमा अध्यक्षहरुले पढेपछि यसबारे सचिवालयमा छलफल हुने उल्लेख गरे ।






