कूटनीति पक्षलाई जोगाउँदै एमसीसी पास हुन्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)संसदबाट पास हुने बताएका छन्।

नेपाल विश्वमै कम्युनिष्ट शासन भएको देश भएको चर्चा गर्दै उनले कूटनीति पक्षलाई जोगाउँदै राष्ट्रिय हितमा एमसीसी पास हुने बताएका हुन् ।

नेकपाद्वारा मंगलबार सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलाको उद्घाटन गर्दै प्रचण्डले कार्यदलले ल्याएको प्रतिवेदन सचिवालयको छलफलपछि मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र स्वतन्त्रतामाथि असर नपर्ने गरी एमसीसी पास हुने बताएका हुन् ।

प्रचण्डले विश्वमा कम्युनिष्ट शक्तिहरु कमजोर भइरहेको बेला नेपालमा बलियो बनेको बताउदै कम्युनिष्टहरुलाई कमजोर पार्न अर्बौको लगानी भइरहेको दाबी गरे। कम्युनिष्ट एकता आजको प्रयासले मात्र नभई विभिन्न ऐतिहासिक कालखण्डदेखिको बहस, छलफल, द्वन्द्ववादी, भौतिकवादी आवश्यकताका आधारमा भएको उनको भनाई थियो।

लिपुलेक, लिम्पियाधुरा, कालापानीका बारेमा भारतीय सरकारलाई लिखित जानकारी गराइसकिएको उनले बताएका थिए ।