फागुन ५ गते २०७६

ताजा समाचार

फागुन ५ गते २०७६

न्यायको लडाइँ जितेको छु, देशकाे शीर झुक्न दिन्नँ : महरा



प्रतिनिधि सभाका पूर्वसभामुख एवं दाङ क्षेत्र नं.–२ का सांसद कृष्णबहादुर महराले आफूले न्यायको लडाइँ जितेको र देशको स्वाधीनता र स्वतन्त्रताका पक्षमा आफू सधैं लडिरहने बताएका छन्।

डिल्लीबजार कारागारबाट रिहा भएलगत्तै एक वक्तव्य जारी गर्दै महराले आफूमाथिको आरोप गलत सावित भएको बताएका हुन्। वक्तव्यमा महराले भनेका छन्, ‘अन्ततः म माथि लगाइएको आरोप गलत सावित भएको छ। सम्मानित अदालतले मलाई निर्दोष ठहर गर्दै सफाइ दिएको छ। म सम्मानित अदालतप्रति विशेष आभार एवं धन्यवाद व्यक्त गर्दछु।’

महराले आफूप्रति शुभेच्छा राख्ने सबैप्रति धन्यवाद दिएका छन्। उनले स्वाधीनताको लडाइँमा आफू निरन्तर लागिरहने प्रतीज्ञा पनि गरेका छन्। विज्ञप्तिमा भनेका छन्, ‘एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ। नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र सधैं रहिरहनेछ।’

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु,

अन्ततः म माथि लगाइएको आरोप गलत सावित भएको छ। सम्मानित अदालतले मलाई निर्दोष ठहर गर्दै सफाइ दिएको छ। म सम्मानित अदालतप्रति बिशेष आभार एवं धन्यवाद व्यक्त गर्दछु। यस क्रममा सक्रियतापूर्वक पहल र सहयोग गर्ने मेरो परिवारका सम्पूर्ण सदस्यहरु, मित्रहरु, मेरो पक्षमा वकालत गर्ने कानुन व्यवसायीहरु र राजनीतिक व्यक्तित्वहरुप्रति हार्दिक आभार प्रकट गर्दछु।

म ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी तथाकथित आरोप खेपेको छु। यस अवधिमा मलाई सद्भाव र सहानुभूति दिनुहुने मेरा समर्थकहरु, शुभचिन्तकहरु, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी मित्रहरु, प्रहरी मित्रहरु र डिल्लीबजार कारागारका सम्पूर्ण बन्दी साथीहरुलाई हार्दिक आभारसहित धन्यवाद दिन चाहन्छु।

एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ। नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र सधैं रहिरहनेछ।