पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखरा बसपार्कको जग्गा ३० रोपनीबाहेक सबै कब्जा भइसकेको बताएका छन् । उनले बाँकी रहेको ३० रोपनी जग्गा पनि कहिले सकिन्छ भन्ने थाहा नहुने बताएका छन् ।
आइतबार एक कुराकानीमा मेयर जिसीले बसपार्कको १९२ रोपनी जग्गामध्ये ३० रोपनी जग्गाबाहेक सबै कब्जा भैसकेको स्पष्ट पारे । उनले बसपार्क बनाउने बनाउने भनेको ५ दशक बित्दा पनि बनाउन नसकिएको स्वीकार गरे ।
बसपार्क बनाउनका लागि मुख्य समस्या त्यहाँ अनाधिकृत रुपमा बस्ती नै भएको उनले बताए । त्यो वस्ती व्यवस्थापन गर्नु नै मुख्य चुनौती भएको उनले बताए ।
बसपार्कमा २५० घरधुरी रहेको जानकारी दिंदै मेयर जिसीले भने, ‘कति घरका घरधनी छन् । कति घर भाडामा दिइएको छ त्यसको फेहरिस्त तैयार भैसकेको छैन । यसको छानविन गरेर अघि बढ्ने तयारी भैरहेको छ ।’
बसपार्कको जग्गामा छाप्रो बनाएर भाडामा लगाउनेको खारेज गर्ने र अन्यत्र जग्गा पनि भएकाहरूको हकमा बाटो खर्च हालेर पठाउने सोंचमा आफू रहेको उनले बताए ।
‘भूमि सुधार मन्त्रालयले भूमिसम्बन्धी नयाँ कानून बनाउँदै गरेको अवस्थामा त्यो कानूनले के भन्छ, त्यो कानून कुरेर बसेका छौं’, मेयर जिसीले भने, ‘ती व्यक्तिहरूलाई सिफ्ट गरेर कहाँ लगेर व्यवस्थापन गर्ने भन्ने समस्याका कारण महानगरपालिका अड्किएको हो ।’
उनले क्षेत्रीय बसपार्क होइन, सिटी बसपार्क बनाउन सकिने स्पष्ट पारे । बसपार्क नबन्नुको मुख्य समस्या जग्गा कब्जा नै भएको उनले बताए । त्यहाँ बसोबास गर्ने पनि नागरिक नै भएको भन्दै उनले बल प्रयोग गरेर उठाउन नमिल्ने बताए । ‘लामो समयदेखि बसेका छन् । उठेर जाउ भन्नु भन्दा पनि कहिं कतै बस्ने ठाउँ देखाइदिएर मात्र जाउ भन्दा राम्रो हुन्छ’, उनले भने, ‘यति गर्दा पनि गएनन् भने बल प्रयोग गरेर हटाउने हो ।’
विकल्प नै नदिइकन उठेर जाउ भन्ने अवस्था नरहेको भन्दै मेयर जिसीले यो आर्थिक वर्षमा विकल्पसहित व्यवस्थापन गर्न महानगर लागेको स्पष्ट पारे ।
पोखरा उपत्यका नगर विकास समिति र महानगरसंग बसपार्क बनाउन पर्याप्त बजेट रहेको भन्दै उनले पैसाकै कारण बसपार्क बनाउन नरोकिने बताए ।
बसपार्कको जग्गा खाली गराउनका लागि समिति गठन गर्ने तयारी भइरहेको भन्दै उनले यस विषयमा कार्यपालिकाको बैठकमा पनि प्रशस्त छलफल भएको र अब छिट्टै एउटा समिति बनाएर अघि बढ्ने जानकारी दिए ।
बसपार्कको समस्यामा पहिलादेखि नै राजनीति हुँदै आएको स्पष्ट पार्दै मेयर जिसीले केही राजनीतिक दलले चुनावमा गरेको प्रतिवद्धता चुनावका लागिमात्र भएको प्रतिक्रिया दिए ।
उनले भने, ‘राजनीतिक दलको त्यो प्रतिवद्धता चुनावका लागि मात्र हो, क्षणिकका लागि मात्र हो ।’ कास्की क्षेत्र नं. २ को गत उपनिर्वाचनमा एक राजनीतिक दलले बसपार्कमा रहेका सुकुम्वासीलाई उठाएर बसपार्क बनाउन नदिने उद्घोष गरेको थियो ।
सुकुम्वासी हो कि होइन भन्ने पहिचान र व्यवस्थापन आवश्यक रहेको भन्दै मेयर जिसीले यो आर्थिक वर्षमा कम्तिमा पनि जग्गा खाली गरेर बसपार्क बनाउनतर्फ लाग्ने स्पष्ट पारे ।
भद्रगोल पोखरा बसपार्क
सुन्दर नगरी पोखरामा व्यवस्थित बसपार्क नहुँदा पोखरा पुग्नेले सास्ती भोग्दै आएका छन् । घुमफिरका लागि पोखरा आउनेहरू यहाँको बसपार्कमा ओर्लिएसँगै झस्कने गर्दछन् । बसपार्क जताततै खाल्डाखुल्डी, अव्यवस्थित घरटहरा, धुलैधुलो र हिलाम्मे अवस्थामा छ ।
पोखरा बसपार्कको जग्गा पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा छ । २०३२ सालमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी बसपार्कका लागि अधिग्रहण गरिएको सो जग्गामा अहिलेसम्म पूर्वाधार बनेको छैन ।
पूर्वमा सेती नदी, पश्चिममा ढिकैढिक भएर बैरागी वन जाने बाटो, दक्षिणमा एयरपोर्टको तारबार र उत्तरमा पृथ्वी राजमार्गभित्रको २ सय ५ रोपनी जग्गा अहिले ३० रोपनीमा खुम्चिएको छ ।
विभिन्न दलहरूले भोट बैंकका रूपमा प्रयोग गर्ने यो सुकुम्बासी बस्ती हटाउने इच्छाशक्ति नभएका कारण तत्कालै बसपार्कका लागि काम अगाडि बढाउने अवस्था पनि छैन ।
पोखरा उपत्यका नगर विकास समितिका तत्कालीन अध्यक्षहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बाँस्तोलका पालामा विभिन्न व्यक्ति र संस्थाको नाममा बसपार्कको जग्गा दिने निर्णय भएको थियो ।

तत्कालीन अध्यक्ष पालिखेले सार्वोच्चमा मुद्दा परेकाले ४ रोपनी बराबर एउटा ९/१५ को घडेरी दिने निर्णय गरेर मिलाएको थियो । त्यसपछि तत्कालीन अध्यक्ष क्षेत्रबहादुर केसी र विष्णु बाँस्तोलाका पालामा पनि जग्गा दिने काम भएको थियो ।
अधिग्रहण गरी सकेको जमिन सट्टापट्टाको नाममा २०६० सालमा तत्कालीन नगर विकास समितिका पदाधिकारीले जग्गाधनीलाई बस पार्कको २० रोपनी ५ आना र होटल व्यवसायीलाई १६ रोपनी १४ आना गरी ३८ रोपनी जमिन दिएका थिए ।
एयरपोर्ट बनाउने बेला उत्तर पूर्वी कुनामा बसेका होटेल व्यवसायीहरूलाई बसपार्ककै जग्गामा सारिएको थियो । त्यसमध्ये पश्चिम लाइनमा ३१ वटा घडेरी ३ लाखका दरले, दक्षिण लाइनमा ११ वटा घडेरी २ लाख ६० हजारका दरले र होटेलको पूर्वी लाइनका ३४ घडेरीमध्ये ३२ घडेरी १ लाख ८० हजारका दरले दिइएको थियो ।






