गण्डकी प्रदेशका मुख्यमन्त्रीले मदिरा सेवन गरिरहेका तस्बिर सार्वजनिक भएपछि यसले सामाजिक सञ्जालमा निकै चर्चा पायो । मुख्यमन्त्रीले कार्यकक्षमै मदिरा सेवन गरेको दाबीसहित तस्बिर शनिबार सार्वजनिक भएपछि आइतबार मुख्यमन्त्रीको सचिवालयले यसको खण्डन गरेको छ ।
मुख्यमन्त्रीको निजी सचिवालयबाट डिल्लीराम सिग्देलले विज्ञप्ति निकालेर ती तस्बिर, भिडियो र समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन् । फागुन २ गते मुख्यमन्त्रीका जेठानको परिवार बेलायतबाट आएको र सोही दिन मुख्यमन्त्रीको जन्मदिन पनि भएकाले साँझ निवासमा पारिवारिक जमघट भएको विज्ञप्तिमा उल्लेख छ । ‘पारिवारिक जमघटमा खिचिएका भिडियो र फोटालाई मुख्यमन्त्रीज्यूको सरकारी कार्यकक्षमै मदिरापान गरेको भन्दै सार्वजनिक गर्नु बिडम्बनापूर्ण छ,’ विज्ञप्तिमा भनिएको छ ।

गुरुङ जातिको संस्कार अनुसारको पारिवारीक जमघटको दाबी गर्दै कुनै मर्यादा विपरित कार्य नभएको सचिवालयले दाबी गरेको छ ।






