फागुन १ गते २०७६

ताजा समाचार

फागुन १ गते २०७६

जनयुद्ध सुरु गर्ने १९ केन्द्रीय सदस्य : को कुन जिम्मेवारीमा छन् ?

देशमा गणतन्त्रको स्थापना भएको छ, सङ्घीयता, समावेशी संविधान बनेको छ। देश अहिले आर्थिक समृद्धिको नयाँ चरणमा प्रवेश गरेको छ। यी सबै उपलब्धि नेपालमा भएको जनयुद्धका कारण सम्भव भएको हो। आज माओवादी आन्दोलन विभिन्न उतारचढावहरु पार पर्दै नेपालमा समाजवादी क्रान्तिको रणनीतिसहित एमाले–माओवादी एकतापछि नेकपाका रुपमा क्रियाशील छ।

तात्कालीन माओवादीले २०५२ साल फागुन १ गते जनयुद्धको घोषणा गरेको थियो। ११ वर्ष लामो सशस्त्र सङ्घर्षपछि जनयुद्ध २०६३ मङ्सिर ५ गते शान्ति सम्झौतामा पुगेर नयाँ गन्तव्यतिर लाग्यो। जनयुद्धमा धेरैले सङ्घर्ष गरे, धेरैको बलिदानी भयो, हजारौं मानिस अहिले पनि बेपत्ता छन्। त्यस्तो महान् युद्धको प्रारम्भ गर्दा १९ जना नेतामात्रै केन्द्रीय सदस्य थिए। यहाँ ती नेताको नाम उल्लेख गरिएको छ।

जनयुद्ध सुरु गर्दा माओवादीमा १९ सदस्यीय केन्द्रीय समिति थियो। केन्द्रीय समितिभन्दा माथि ६ जनाको पोलिट्व्यूरो थियो। पोलिटव्यूरोमा १. पुष्पकमल दाहाल ‘प्रचण्ड’, महामन्त्री, २. मोहन वैद्य ‘किरण’, ३. डा. बाबुराम भट्टराई ‘लालध्वज’, ४. रामबहादुर थापा ‘बादल’, ५. पोष्टबहादुर बोगटी ‘दीवाकर’ र ६. सीपी गजुरेल ‘गौरव’, थिए । महत्वपूर्ण राजनीतिक निर्णय यिनै ६ नेताको बैठकले गर्दथ्यो।

केन्द्रीय समितिका सदस्यमा, ७. हरिबोल गजुरेल ‘शितलकुमार’, ८. यानप्रसाद गौतम ‘आलोक’, ९. टोपबहादुर रायमाझी ‘अनिल’, १०. देवप्रसाद गुरुङ ‘कान्छाबहादुर’, ११. पम्फा भुसाल ‘विद्युत’, १२. दण्डपाणि न्यौपाने ‘दीपेन्द्र’, १३. अग्नि सापकोटा ‘कञ्चन’, १४. फणिन्द्र आचार्य ‘अनल’, १५. लोकेन्द्र विष्ट ‘अभ्यास’, १६. हरिभक्त कंडेल ‘प्रतीक’, १७. मातृका यादव ‘रामसिंह’, १८. दिनेश शर्मा ‘सागर’, १९. नारायण शर्मा ‘कमलप्रसाद’ थिए।

(१) पुष्पकमल दाहाल ‘प्रचण्ड’ – वि.सं. २०११ साल मंसीर २६ गते कास्कीमा जन्मिएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनयुद्धका सर्वोच्च नेता हुन्। २०४८ सालको एकता महाधिवेशनले प्रचण्डलाई पार्टीको महामन्त्रीमा निर्वाचित गरेको थियो। २०५१ सालमा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनले पार्टीको नाम एकता–केन्द्रबाट परिवर्तन गरी नेकपा (माओवादी) बनाएको थियो। प्रचण्ड नेकपा (माओवादी) का महामन्त्री थिए। २०५७ को दोस्रो राष्ट्रिय सम्मेलनपछि प्रचण्ड पार्टी अध्यक्ष बनेका थिए। उनले अघि सारेको विचारलाई सामूहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्तिका रुपमा प्रचण्डपथ नामाकरण गरिएको थियो। प्रचण्ड अहिले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष हुन्। उनी २ पटक नेपाल सरकारको प्रधानमन्त्री भइसकेका छन्।

(२) मोहन वैद्य ‘किरण’ – वि.सं. २००३ साल साउन १५ गते प्युठानको खैरागाउँमा जन्मिएका वैद्य जनयुद्ध सुरु गर्दा माओवादीमा दोस्रो बरियतामा थिए। पाँचौं महाधिवेशनमा महामन्त्री भइसकेका उनी माओवादीका दार्शनिक नेता एवं सौन्दर्य चिन्तक मानिन्छन्। जनयुद्ध अवधिभरि पार्टीको वैचारिक नेतृत्व गरेका वैद्य पछिल्लो समय मुलधारबाट विद्रोह गरी नयाँ पार्टी गठन गरे। लाभको पदमा नरहेका उनी हाल नेकपा (क्रान्तिकारी–माओवादी) को महासचिवका रुपमा सानो वामपन्थी समूहको नेतृत्व गरिरहेका छन्। उनको समूह बल प्रयोगकै माध्यमबाट सत्तामाथि विजय हासिल गर्नुपर्ने मान्यतामा छ।

(३) डा. बाबुराम भट्टराई – वि.सं. २०११ साल असार ४ गते गोरखाको खोप्लाङमा जन्मिएका भट्टराई माओवादीमा तेस्रो बरियतामा रहेका नेपाली राजनीतिका बौद्धिक नेता मानिन्छन्। जनयुद्धको अवधिमा उनले मूख्यतः मध्यक्षेत्रको कमाण्ड सम्हालेका थिए। विद्रोही शक्तिको जनसरकारको प्रमूख रहेका उनी नेपालको प्रधानमन्त्री भइसकेका छन्। २०७२ सालमा नयाँ संविधान जारी भएपछि उनले कम्युनिष्ट पार्टी परित्याग गरी नयाँ शक्ति पार्टी गठन गरे। पछिल्लो समय नयाँ शक्ति र संघीय समाजवादी पार्टीबीच एकता गरेपछि उनी हाल समाजवादी पार्टी नेपालको केन्द्रीय परिषदको अध्यक्ष छन्।

(४) रामबहादुर थापा ‘बादल’ – वि.सं. २०१२ साल वैशाख १९ गते गुल्मीको सुन्दर गाउँमा जन्मिएका थापा जनयुद्धमा चौंथो बरियतामा रहेका नेता हुन्। पार्टीभित्र सैन्य रणनीतिकार मानिने थापा शालिन स्वाभावका छन्। जनयुद्धकालमा पूर्वी र पश्चिम कमाण्डको नेतृत्व गरेका उनी शान्ति प्रक्रियापछि रक्षामन्त्री भएका थिए। केही समय मुलधारको राजनीतिबाट बाहिरिएका उनी २०७३ सालमा मुलधारमा समाहित भई हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय सदस्यको भूमिका छन्। उनी नेपाल सरकारका बहालवाला गृहमन्त्री हुन्।

(५) पोष्टबहादुर बोगटी ‘दीवाकर’ – बोगटी वि.सं. २०१० साल साउन ३ गते नुवाकोटमा जन्मिएका थिए। अत्यन्तै शालिन स्वाभावका माओवादी नेता थिए नेता बोगटी। जनयुद्ध सुरु गर्दा माओवादीमा उनी पाँचौं बरियतामा थिए। उनले आधार इलाकाको नेतृत्व गर्दै पार्टीको रणनीतिक विकासमा ठूलो योगदान गरेका थिए। मतभेदलाई सामान्यीकरण गर्न माहिर बोगटी माओवादी आन्दोलनमा सबैको अभिभावक मानिन्थे। शान्ति प्रक्रियापछि उर्जामन्त्री, शिक्षामन्त्री भएका उनी माओवादीको उपाध्यक्षसमेत भएका थिए। उनको २०७१ भदौ ३१ मा हृदयघातका कारण निधन भयो।

(६) सीपी गजुरेल ‘गौरव’ – गजुरेल वि.सं. २००५ साल वैशाख १७ गते सिन्धुलीमा जन्मिएका थिए। पार्टीभित्र गौरवका नामले चिनिने गजुरेल जनयुद्ध सुरु गर्दा पार्टीको पोलिट्व्यूरो सदस्य थिए। पार्टीभित्र वैचारिक नेता मानिने उनी कुटनीतिक मामिला र अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिले माहिर नेता मानिन्छन्। उनले जनयुद्धकालभरि विदेश विभागको नेतृत्व गर्दै जनयुद्धलाई अन्तर्राष्ट्रिय स्तरमा राजनीतिक आन्दोलनका रुपमा स्थापित गर्न सशक्त भूमिका खेलेका थिए। शान्ति प्रक्रियापछि उनी परराष्ट्रमन्त्रीसमेत भएका थिए। उनी हाल मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी–माओवादी) को दोस्रो बरियताका नेता हुन्।

(७) देवप्रसाद गुरुङ ‘कान्छाबहादुर’ – वि.सं. २०१० सालमा मनाङमा जन्मिएका गुरुङ जनयुद्ध सुरु गर्दा माओवादीमा केन्द्रीय सदस्य थिए। पार्टीभित्र अध्ययनशील र बौद्धिक नेता मानिने गुरुङले प्रचण्डसँग मिलेर पहिलो हतियार संकलनको काम गरेका थिए। जनयुद्धका बेला मध्यकमाण्डका विभिन्न जिम्मेवारीमा रहेका उनी शान्ति प्रक्रियापछि कानूनमन्त्री भएका थिए। शान्ति प्रक्रियापछि पार्टीभित्र वैचारिक मतभेद भई बाहिरिएका उनी २०७३ पछि मुलधारको माओवादी आन्दोलनमा आए। हाल उनी नेकपाको स्थायी समिति सदस्य र संसदीय दलको प्रमूख सचेतकको जिम्मेवारीमा छन्।

(८) टोपबहादुर रायमाझी ‘अनिल’ – वि.सं. २०१८ कार्तिक २५ मा अर्घाखाँचीमा जन्मिएका रायमाझी माओवादीको केन्द्रीय सदस्य थिए। पार्टीभित्र लडाकु स्वाभावका रायमाझीले जनयुद्ध कालमा पश्चिम कमाण्डअन्तर्गत विभिन्न व्यूरोहरुको नेतृत्व गरेका थिए। शान्ति प्रक्रियापछि पटकपटक मन्त्री र उपप्रधानमन्त्रीसमेत भइसकेका उनी माओवादीको केन्द्रीय सचिवसम्म भएका थिए। उनी हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य हुन्।

(९) अग्नि सापकोटा ‘कञ्चन’ – जनयुद्ध सुरु गर्दाका केन्द्रीय सदस्य अग्नि सापकोटा वि.सं. २०११ साउन १४ गते सिन्धुपाल्चोकमा जन्मिएका थिए। शिक्षक पृष्ठभूमिका सापकोटाले जनयुद्ध कालमा मध्यक्षेत्रको जोखिमपूर्ण जिम्मेवारी सम्हालेका थिए। युद्धविरामको अवधिमा वार्ताटोलीको सदस्य भएर काम गरेका सापकोटा पूर्वमन्त्रीसमेत हुन्। बौद्धिक र शालिन नेताका रुपमा परिचित सापकोटा हाल प्रतिनिधि सभाको सभामुख पदमा निर्वाचित भएका छन्।

(१०) हरिबोल गजुरेल ‘शितलकुमार’ – वि.सं. २०१२ साल वैशाख ६ गते सिन्धुलीमा जन्मिएका गजुरेल जनयुद्ध सुरु गर्दा माओवादीका केन्द्रीय सदस्य थिए। उनी २०४७ सालमा मोहनविक्रमसँग विद्रोह एकता–केन्द्रमा सामेल भएका थिए। पार्टीभित्र विचारधारात्मक विषयमा दख्खल राख्ने गजुरेल शान्ति प्रक्रियापछि नेपाल सरकारको कृषिमन्त्री भएका थिए। उनी हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति सदस्य छन्। उनी पार्टीभित्र अध्ययनशील र इमान्दार कम्युनिष्ट नेताका रुपमा चिनिन्छन्।

(११) पम्फा भुसाल ‘विद्युत’, – वि.सं. २०१९ साल साउनमा अर्घाखाँचीमा जन्मिएकी पम्फा भुसाल जनयुद्ध सुरु गर्दा माओवादीमा एकमात्र महिला केन्द्रीय सदस्य थिइन्। जनयुद्ध सुरु गर्नुअघि नै उनी माओवादीको संयुक्त जनमोर्चाको केन्द्रीय अध्यक्ष भएकी थिइन्। जनयुद्धको कुशल नेता मानिने भुसाल शान्ति प्रक्रियापछि सामान्य प्रशासनमन्त्री भएकी थिइन्। हाल उनी नेकपाको सांसद र स्थायी समिति सदस्यको जिम्मेवारीमा छिन्।

(१२) मातृका यादव ‘रामसिंह’ – वि.सं. २०१६ सालमा सप्तरीमा जन्मिएका यादव जनयुद्ध सुरु गर्दा मधेशी समुदायका एकमात्र केन्न्द्रीय सदस्य थिए। रामवृक्ष यादवको २०५१ मा शहादत भएपछि मधेशमा माओवादी आन्दोलनको बिस्तार गर्न उनले सक्रिय भूमिका खेलेका थिए। शान्ति प्रक्रियापछि केही समय उनी मुलधारको राजनीतिबाट अलग भए। केही वर्षपछि माओवादी केन्द्रमै फर्किएका यादव नेपाल सरकारका पूर्वमन्त्री हुन्। हाल उनी नेकपाको स्थायी समिति सदस्यको जिम्मेवारीमा छन्।

(१३) हरिभक्त कंडेल ‘प्रतीक’ – वि.सं. २०११ साउन १४ गते जन्मिएका कंडेल माओवादीले जनयुद्ध सुरु गर्ने बेला केन्द्रीय सदस्य थिए। जनयुद्धकालमा प्रवासमा रहेर अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तारमा सक्रिय रहेका उनी शान्ति प्रक्रियापछि मोहन वैद्यसँग एकीकृत नेकपा (माओवादी) बाट अलग भए। राजकीय लाभको पद नसम्हालेका कंडेल हाल वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी–माओवादी) मा प्रवक्ताको जिम्मेवारीमा छन्।

(१४) नारायण शर्मा ‘कमलप्रसाद’ – वि.सं. २०१४ पुस ४ मा दाङमा जन्मिएका शर्मा जनयुद्ध सुरु गर्दा माओवादीका केन्द्रीय सदस्य थिए। जनयुद्ध कालमा प्रवास र प्रकाशन विभागको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका शर्मा २०६४ मा संविधान सभा सदस्य भएका थिए। केही समय एकीकृत नेकपा (माओवादी) बाट विद्रोह गरी वैद्य नेतृत्वतिर लागेका उनी २०७३ पछि नेकपा (माओवादी केन्द्र) का रुपमा एकीकृत पार्टीमा क्रियाशील छन्। हाल उनी नेकपाको पुस्तकालय तथा अभिलेख विभागको प्रमूख छन्।

(१५) दण्डपाणि न्यौपाने ‘दीपेन्द्र’ – वि.सं. २००३ चैत्र १२ गते चितवनको गीतानगरमा जन्मिएका न्यौपाने जनयुद्ध सुरु गर्दा माओवादी केन्द्रीय सदस्य थिए। बौद्धिक नेताका रुपमा चिनिने न्यौपाने पार्टीभित्र उच्च छविका इमान्दार नेता मानिन्थे। उनी २०५६ जेठ ७ गते काठमाडौंबाट गिरफ्तार परे। त्यसपछि उनी हालसम्म बेपत्ताको सूचिमा छन्। न्यौपाने जनयुद्धमा बेपत्ता पारिने सबैभन्दा उच्च तहका नेता हुन्।

(१६) दिनेश शर्मा ‘सागर’ – वि.सं. २०१६ साल साउन ७ गते काभ्रेमा जन्मिएका नेता शर्मा जनयुद्ध सुरु गर्दा माओवादीका केन्द्रीय सदस्य थिए। उनी माओवादी नेता यानप्रसाद गौतमका नातेदार पनि थिए। उनीकी पत्नी कमला गौतमलाई जनयुद्धका क्रममा सेनाले बेपत्ता बनाएको थियो। जनयुद्धका क्रममा मध्य कमाण्डअन्तर्गतका विभिन्न जिम्मेवारीमा रहेर काम गरेका शर्मा पछिल्लो समय एकीकृत नेकपा (माओवादी) बाट अलग भई मोहन वैद्यतिर लागे। हाल उनी नेकपा (क्रान्तिकारी–माओवादी) का नेताका रुपमा क्रियाशील छन्।

(१७) लोकेन्द्र विष्ट ‘अभ्यास’ – वि.सं. २०२१ सालमा रुकुममा जन्मिएका विष्ट जनयुद्ध सुरु गर्दा माओवादीको केन्द्रीय सदस्य थिए। उनी २०५१ मा पक्राउ परेर २०५८ सालमा छुटेका थिए। विष्ट फेरि २०६१ सालमा भारतमा पक्राउ परे। शान्ति प्रक्रियापछि विष्ट नेपाल सरकारको पर्यटनमन्त्री भएका थिए। पछिल्लो समय उनी राजनीतिबाट अलग रहेर दाङमा व्यवसायिक कृषि पेशामा व्यस्त छन्।

(१८) यानप्रसाद गौतम ‘आलोक’ – वि.सं. २०१७ वैशाखमा काभ्रेमा जन्मिएका नेता गौतम तात्कालीन माओवादीमा केन्द्रीय सदस्य थिए। उनलाई पार्टीभित्र प्रखर वक्ताको रुपमा चिनिन्थ्यो। जनयुद्धको प्रारम्भिक कालमा संगठन बिस्तार र जनसमर्थन जुटाउन विशेष भूमिका निभाएका उनी पूर्वी कमाण्डका ईञ्चार्ज थिए। तर, उनीमाथि यौन दूराचार, कार्यकर्ताको हत्या र पार्टी नेतृत्वका विरुद्ध षड्यन्त्र गरेको आरोप लाग्यो। उनको कार्यशैलीलाई पार्टीभित्र आलोक प्रवृत्तिका रुपमा संश्लेषणसमेत गरियो। उनलाई पार्टीभित्र कार्वाही गरियो। गौतमको २०५९ मा रोल्पाको उवामा सेनाको कार्वाहीमा मृत्यु भयो।

(१४) फणिन्द्र आचार्य ‘अनल’ – जनयुद्ध सुरु गर्दा माओवादीको केन्द्रीय समितिमा थिए नेता आचार्य। तर, उनी भूमिगत भएनन्। जनयुद्धको अवधिभरि चितवनमा व्यवसायिक र सामाजिक गतिविधिमा सक्रिय रहेका आचार्य शान्ति प्रक्रियापछि माओवादीको सक्रिय राजनीतिमा आएका थिए। शारीरिक रुपमा अस्वस्थ भएपछि हाल उनी घरमै आराम गरिरहेका छन्।

lokpati.com