गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले गलत गर्ने कसैलाई नछाड्न र कसैको प्रभावमा नपर्न आग्रह गरेका छन् । उनले भने, ‘मैले कानुन विपरीत काम गर्नुस् भने पनि नगर्नुस् । मेरा छोराछोरीले गलत गरे नछोड्नुस् ।’
उनले देशले प्रगति गर्न नसक्नु र गरिब रहिरहनुको प्रमुख कारण भ्रष्टाचार रहेको तर्क गरे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९ औै वार्षिकोत्सवमा आयोगको प्रदेश कार्यालय पोखराले बुधबार आयोजना गरेको कार्यक्रममा उनले भने, ‘भ्रष्टाचारसम्बन्धी जुनसुकै अभियोगमा निष्पक्ष छानबिन गरी भ्रष्ट आचरण भएकालाई आयोगले कानूनको कठघरामा ल्याउन सक्नुपर्दछ ।’
प्रदेश सरकारका प्रमुख सचिव हरिप्रसाद बस्यालले सरकारी, राजनीतिक तथा निजी क्षेत्रले सूचना प्रवाह गरेर भ्रष्टाचार नियन्त्रणमा सघाउनुपर्ने बताउँदै आयोगले हालै जारी गरेको ६१ बुँदे सुधारका बुँदामध्ये प्रदेश सरकारसँग सम्बन्धित ११ बुँदाको कार्यान्वयन सुरु भएको बताए ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले सुशासन स्थापना विना समृद्धि हासिल गर्न नसकिने भएकाले निर्णायक तहमा रहेको ‘स्वार्थको द्वन्द्व’ कारणबाट भ्रष्टाचारजन्य गतिविधिले प्रश्रय पाउने गरेको उल्लेख गरे ।
पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले अख्तियारलाई बलियो बनाउन सबैको साथ र सहयोग आवश्यक रहेकामा जोड दिए ।
आयोगको प्रदेश कार्यालय पोखराका निमित्त प्रमुख शम्भु मिश्रले पछिल्लो आवमा कूल उजुरीको संख्या निरन्तर बढ्दो क्रममा रहेको बताउँदै माघ २३ गतेसम्मको तथ्याङ्कअनुसार चालू आवमा ३७२ तथा गत वर्षको जिम्मेवारी सरेका २८७ सहित कूल ६५९ उजुरीमध्ये २७४ पछ्र्यौट गरिएको तथा ३८५ अनुसन्धानमा रहेको जानकारी दिए ।
कार्यालयका उपसचिव मेघनाथ रिजालले आयोगको रणनीति बमोजिम निरोधात्मक, प्रवद्र्धनात्मक, उपचारात्मक र संस्थागत सुदृढीकरणका कार्य सञ्चालन गरी भ्रष्टाचार नियन्त्रका कार्यअघि बढाइको उल्लेख गरे ।
आफू उपप्रधान तथा स्वास्थ्यमन्त्री हुँदा १ व्यक्ति पोकोभरि पैसा लिएर घर आएको स्मरण गर्दै उनले पैसा राजस्वमा पठाएर ती व्यक्तिलाई बर्खास्त गरेको सुनाए । व्यक्तिगत सम्पत्तिको मोह कायम रहेसम्म भ्रष्टाचार नियन्त्रण नहुने उनको ठम्याइ छ । समारोहमा पोखरा थियटरका कलाकारले भ्रष्टाचारविरुद्धमा सचेतनामूलक नाटक प्रदर्शन गरेका थिए ।






