माघ २८ गते २०७६

ताजा समाचार

माघ २८ गते २०७६

नतिजा नआउँदा पोविविका विद्यार्थी मर्कामा, प्रशासनमा ताला

- ६ महिनादेखि उपकुलपति र रजिष्टारविहीन

विश्वविद्यालयबाट उच्च शिक्षा अध्ययन पूरा गरिसकेपछि विद्यार्थीको सपना के हुन्छ होला ? थप शिक्षाका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा अध्ययनका लागि जाने या सरकारी तथा अन्यत्र जागीरको खोजी गर्ने । विद्यार्थीका सपना अन्य धेरै पनि हुन्छन् ।

तर पोखरा विश्वविद्यालयका विद्यार्थी आफ्नो यस्ता अवसरहरूबाट बञ्चित हुँदैछन् । जसको कारण हो विश्वविद्यालयमा राजनीतिक नियुक्ति । यही नियुक्ति गर्नमा ढिलाई हुँदा विद्यार्थीका परीक्षाफल प्रकाशित गर्नमा ढिलाई भएको हो ।

यसको सोझो मार पोखरा विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय अन्तर्गत बि. फार्मेसी र विएससी नर्सिङमा अध्ययनरत विद्यार्थीहरूमा परेको छ ।

विश्वविद्यालयले परीक्षाफल प्रकाशित गर्न ढिलाई गरेपछि उनीहरू नेपाल फार्मेसी काउन्सिल र नर्सिङ काउन्सिलको नाम दर्ता अर्थात लाइसेन्स अनुमति पत्र परीक्षामा सहभागी हुनबाट बञ्चित हुने भएका छन् ।

यसबाट पीडित बनेका विद्यार्थीहरूले नजिता छिटो भन्दा छिटो प्रकाशन गर्न माग गर्दै आन्दोलन शुरु गरेका छन् । उनीहरूले मंगलबारदेखि विश्वविद्यालयको केन्द्रीय प्रशासनमा अनिश्चितकालीन तालाबन्दी गरेर परीक्षाफल छिटो सार्वजनिक गर्न दवाव दिएका छन् ।

उनीहरूले दुई दिनभित्र आफूहरूको माग संवोधन नभए विश्वविद्यालयका सबै कार्यालयमा तालावन्दी गरेर पठनपाठन ठप्प पार्ने चेतावनी समेत दिएका छन् ।

विद्यार्थीहरूले शिक्षाजस्तो क्षेत्रमा तालावन्दी गरेर आन्दोलन गर्ने आफूहरूको रहर नभई बाध्यता भएको बताएका छन् । साथै यो समस्याको जड सबै राजनीति नै भएको उनीहरुको दावी छ ।

नेपाल फार्मेसी काउन्सिल र नर्सिङ काउन्सिलको नामदर्ता (लाइसेन्स) परीक्षाका लागि आवेदन दिने अन्तिम मिति फागुन २ गतेसम्म छ । जसका लागि बि. फार्मेसी र विएससी नर्सिङ अन्तिम वर्षको नतिजा अनिवार्य छ ।

तर पोविविमा रजिष्टार नभएर परीक्षाको नतिजा प्रकाशित गर्न ढिलाई भएपछि विद्यार्थीहरू पीडित बनेका हुन् । फागुन २ गतेसम्ममा आवेदन दिन नपाए थप ६ महिना कुनुपर्ने विद्यार्थीको गुनासो छ ।

पोखरा विश्वविद्यालयमा ६ महिनादेखि उपकुलपति र माघ २ गतेदेखि रजिष्टार पद रिक्त छ । राजनीतिक नियुक्ति मार्फतबाट मात्रै उपकुलपति र रजिष्टार नियुक्ति हुने भएकाले यी पदहरू लामो समयदेखि रिक्त भएका हुन् । जसले गर्दा नतिजा प्रकाशनमा ढिलाई भएको हो ।

यसबाट पीडित बनेका विद्यार्थीहरूले पोखरा विश्वविद्यालयले आफूहरूको भविष्य अन्धकारतर्फ धकेलिएिको भन्दै पीडा र आक्रोश पोखेका छन् ।

पीडित विद्यार्थीमध्येकी सामना सुवेदीले विद्यार्थीहरुले आफ्ना सबै परीक्षाहरू सकाए पनि परीक्षाफल प्रकाशन हुन ढिलाई हुँदा निकै समस्या भएको बताइन् । उनले लाइसेन्स अनुमति पत्रका लागि आवेदन दिनमात्र होइन इन्टरनेशनल छात्रवृत्तिका लागि आवेलनका लागि लड्न पनि नपाएको गुनासो गरिन् ।

विएससी नर्सिङको परीक्षा दिएर परीक्षाफल कुर्दै गरेकी विद्या अर्यालले आफूहरू जसरी भए पनि लाइसेन्स परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गरिन् ।

उनले आफूहरूको समय आन्दोलन गर्दै हिंड्ने बेला नभएको भन्दै पढ्ने समय र आफूहरुको भविष्यमाथि विश्वविद्यालयले खेलवाड गरेको गुनासो गरिन् ।

अर्यालले पोखरा विश्वविद्यालयमा अध्ययरत भएर लाइसेन्स परीक्षामा फेल भएको भन्दा आफूहरूलाई हेर्ने दृष्टिकोण फरक हुने बताइन् ।

पोविविमा अध्ययन गरेको भन्ने हो भने सबैले नाक उचाल्ने गरेको भन्दै उनले पीडा पोखिन् । शिक्षा क्षेत्रमा राजनीति छिर्नु नै विडम्वना भएको भन्दै उनले यसबाट मुक्त गर्नुपर्ने खाँचो औंल्याइन् ।

वि. फार्मेसीमा अध्ययनरत विकास रानाभाटले राजनीतिका कारण आफूहरूको भविष्य अन्योलमा परेको गुनासो गरे । परीक्षाफल समयमा आउन नसक्दा आफूहरू निकै चिन्तित बनेको भन्दै उनले यसको जिम्मेवारी कस्ले लिने हो ? त्यसको जवाफ आउनुपर्ने माग गरे । विद्यार्थीको आन्दोलन सरकारलाई भारी पर्ने उनले चेतावनी दिए ।

यता, पोखरा विश्वविद्यालयका सह परीक्षा नियन्त्रक पुष्पा पौडेलले उपकुलपति र रजिष्टार नियुक्तिमा ढिलाई हुँदा विद्यार्थीको परीक्षाफल प्रकाशित गर्नमा ढिलाई भएको बताइन् ।

उनले नतिजा प्रकाशित गर्नका लागि रजिष्टार नियुक्ति अनिवार्य हुने भन्दै रजिष्टार नियुक्ति नभएसम्म केही गर्न नसकिने प्रतिक्रिया दिइन् । ‘रजिष्टार नियुक्ति हुन्छ हुन्छ भन्दै कुरेको धेरै समय भैसक्यो । समस्या जििटल छ’, उनले भनिन् ।

रजिष्टार नियुक्ति नहुँदा विश्वविद्यालयका धेरै काम थाती रहेको भन्दै सहपरीक्षा नियन्त्रक पौडेलले यो समस्या समाधान प्रधानमन्त्री र शिक्षाबाटबाहेक अन्यत्रबाट नहुने बताइन् । रजिष्टार र उपकुलपति नियुक्तिका लागि धेरै पहल भए पनि केन्द्रबाट सुनुवाई हुन नसकेको उनले स्पष्ट पारिन् ।

सधैंभरि आन्दोलन भइरहने थलो हो पोखरा विश्वविद्यालय । पोविविमा कहिले विद्यार्थी, कहिले प्राध्यापकले आन्दोलन चर्काउने गर्दछन् । पोविविमा आन्दोलन र दवाव विना कुनै पनि काम नहुने बुझाई छ ।

विश्वविद्यालय जस्तो महत्वपूर्ण शैक्षिक क्षेत्र ६ महिना नेतृत्वविहीन हुनु विडम्वना हो । साथै रजिष्टार नियुक्ति नगरेर विश्वविद्यालयको सबै कामकाज ठप्प बनाइनु निकै लाजमर्दो विषय हो ।

शिक्षाजस्तो क्षेत्रमा राजनीतिक नियुक्तिमार्फत मात्रै काम हुने परिपाटीका कारण समस्या विकराल बन्दै गएको छ भने यसबाट लाखौं विद्यार्थीको भविष्य अन्धकारमा परेको छ ।

यसतर्फ विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री, सहकुलपति शिक्षामन्त्रीका साथै शिक्षा मन्त्रालय र सरोकारवालाले बेलैमा ध्यान दिन जरुरी छ ।

भिडियोमा पनि हेरौं