नेकपामा प्रचण्डलाई मात्र अध्यक्ष बनाउन वामदेवको प्रस्ताव

नेपाल कम्युनिष्ट पाटीका नेता वामदेव गौतमले पार्टीमा एउटा मात्रै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बनाउनु पर्ने प्रस्ताव गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अधिकार कटौतीको प्रस्ताव गर्दै अध्यक्षको एकल जिम्मेवारीको प्रस्ताव गरेका हुन् ।

पार्टीलाई प्रभावकारी बनाउन एक व्यक्ति एक पद नीति लागू गरेर अर्का अध्यक्ष प्रचण्डलाई अध्यक्षको एकल जिम्मेवारी दिन माग गर्दै शनिबार पार्टीको स्थायी समिति बैठकमा गौतमले फरक मत प्रस्तुत गरेका थिए । नेता गौतमले पार्टी स्थायी कमिटीको बैठकमा १६ पृष्ठ लामो लिखित प्रस्ताव पेश गरेका नेता गौतमले सरकारमाथि पार्टीको नियन्त्रण र अंकुश लगाउने प्रस्ताव अघि सारेका हुन्।असन्तुष्ट नेता गौतमले स्थायी कमिटी र पोलिब्यूरो कमिटीलाई शक्तिशाली बनाउनुपर्ने प्रस्ताव गरेका छन्।

स्थायी कमिटीको जानकारी बिना सरकारले महत्वपूर्ण निर्णय गर्न नपाउने मागसमेत अघि सारेका गौतमले कुनै पनि कमिटीको अध्यक्षता गर्न दुबै अध्यक्षको अनिवार्य उपस्थितिको व्यवस्था अन्त्य गर्न भनेका छन् । दृढतापूर्वक सम्पूर्ण पार्टी कमिटीमा एक व्यक्ति, एक प्रमुख जिम्मेवारी लागू गर्नुपर्नेमा उनको जोड छ ।

सम्पूर्ण पार्टी कमिटीमा एक व्यक्ति, एक प्रमुख जिम्मेवारी लागू गर्ने भन्ने गौतमको प्रस्तावले नेकपा केन्द्रमा पनि एकमात्र अध्यक्ष बनाउने र त्यो जिम्मेवारी प्रचण्डलाई मात्र दिने भन्ने अर्थ लाग्छ। किनभने, उनले अध्यक्ष प्रधानमन्त्रीले प्रभावकारी रुपमा सरकार सञ्चालन गर्नेतर्फ नै बढी ध्यान दिने भन्ने प्रस्ताव पनि राखिसकेका छन्। १५ दिनभित्र केन्द्रीय कमिटीको बैठक बोलाउनु पर्ने, बैठकमा आत्मालोचनात्मक शैलीमा लेखिएको प्रतिवेदन प्रस्तुत गर्नुपर्ने, कुनै नेतालाई विशेष अधिकारयुक्त बनाउने अवस्था समाप्त गर्नुपर्ने माग पनि गौतमको छ ।

पार्टी र सरकारलाई व्यवस्थित गर्ने सम्बन्धमा स्थायी कमिटीमा प्रस्तुत मेरो विचार’ शीर्षकको सो फरकमत ९प्रतिवेदन० मार्फत् गौतमले विभिन्न ६ बुँदे सुझाव दिएका छन्। र, ती ६ बुँदा अन्तर्गत ६७ वटा उपबुँदा समेटिएका छन् ।