पोखरा विमानस्थल निर्माण कार्य प्रभावित

- कोरोना भाइरसको असर

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइसको प्रभाव राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यमा पनि परेको छ । जसका कारण विमानस्थल निर्माण कार्य प्रभावित भएको छ । हाल सामान्य प्रभावमात्र परेको तर भविष्यमा ठूलै प्रभाव पर्न सक्ने देखिन्छ ।

विमानस्थल निर्माणमा कार्यरत करिब १०० जना कर्मचारी नयाँ वर्ष मनाउन चीन गएका थिए । जसमध्ये १३ जना मात्रै नेपाल फकिएका छन् । तर उनीहरू काममा लाग्न पाएका छैनन् । जसमध्ये केही नयाँ कर्मचारी आउन लागेका हुन् ।

उनीहरू १० दिनदेखि एयरपोर्ट भित्रकै आइसोलेशन वार्डमा सम्पर्क विहीन भएर बस्नु परेको छ । उनीहरू चिकित्सकको कडा निगरानीमा छन । उनीहरूलाई बाहिर निस्किन दिइएको छैन भने कसैसंग भेट्न पनि दिइएको छैन । उनीहरूलाई वार्डमै खाने बस्ने व्यवस्था गरिएको छ ।

उनीहरूलाई यसअघि चीनमै पनि १५ दिन आइसोलेशन वार्डमा राखेर नेपाल ल्याइएको थियो । १० दिनमा केही फेला नपरेपछि उनीहरूलाई भने काममा फर्काउने तयारी भइरहेको बताइन्छ ।

यता, चीनमै रहेका ८५ जना कर्मचारीलाई पनि आइसोलेशन वार्डमा राखेर निगरानी गरिरहेको बताएको छ । फेव्रुअरी १५ बाट उनीहरूलाई पनि पालैपालो नेपाल ल्याउने तयारी भइरहेको छ ।

विमानस्थलभित्र ५ वटामात्रै आइसोलेशन वार्ड छ । उक्त वार्डको क्षमता १५ जनाको मात्र छ । त्यसैलै हाल उक्त वार्डमा राखिएका कर्मचारी काममा फर्किएपछि मात्रै चीनमा रहेका कर्मचारी क्रमशः ल्याइनेछ । उनीहरूलाई पनि १५ दिन विमानस्थल भित्रैकै आइसोलेशन वार्डमा राखेर निगरानी गरिनेछ ।

८५ जना कर्मचारीहरू चीनमै रहेपछि त्यसको सोझो असर विमानस्थल निर्माण कार्यमा परेको छ । चीन गएका कर्मचारीहरू विशेषगरि ढलान र प्लाष्टर कार्य गर्ने कर्मचारी हुन् । उनीहरू चीन गएर करिब साढे २ महिना उतै रहनु परेपछि विमानस्थलको ढलानको काम रोकिएको छ ।

विमानस्थलको मुख्य टर्मिनल भवनको प्लाष्टर बाहेकका अन्य काम सकिएको छ । उक्त कामको कार्यतालिका नै परिवर्तन गरिएको छ ।

अब काममा फर्कन लागेका १३ कर्मचारीलाई नै रातदिन खटाएर भए पनि कार्यतालिका अनुसार नै काम सक्ने प्रयास भइरहेको आयोजनाले जनाएको छ । विमानस्थल निर्माणमा १८० जना चिनियाँ र २०० नेपाली कामदार खटिएका छन् ।

विमानस्थल निर्माण आयोजना प्रमुख इन्जिनियर विनेश मुनंकर्मीका अनुसार कोरोना भाइरसका कारण अहिले समान्य प्रभाव परे पनि यो समस्या लम्विरहे विमानस्थल निर्माण कार्यमा ठूलै प्रभाव पर्नेछ । जसले विमानस्थल निर्माणको काम निर्धारित समयमा सक्न समस्या हुने उनले बताए ।

यता, विमानस्थल निर्माणको काम अहिलेसम्म ५५ प्रतिशत पूरा भएको छ । आगामी २०२१ जुलाईसम्ममा निर्माण कार्य सक्ने लक्ष्य छ । कहिं कतैबाट अवरोध नभए २०२० को अन्त्यसम्ममा निर्माण कार्य सम्पन्न हुनेछ । तर हाल फैलिएको कोरोना भाइरसका कारण यो कार्यमा धक्का लाग्ने हो कि भन्ने आशंका उव्जिएको छ ।

चाइनाको चाइना इन्जिनियरिङ कम्पनी (सिएमसी) ले निर्माणको जिम्मेवारी पाएको विमानस्थलको सम्झौता २०१७ जुलाई ११ मा भएको थियो । निर्माण कार्य भने २०१७ नोभेम्वर ११ बाट शुरु भएको थियो ।

आयोजना निर्माण शुरु भएको छोटो समयमै उल्लेखनीय काम भएको विमानस्थलमा सन् २०२० को अन्त्यसम्ममा सबै काम सम्पन्न गरी २०२१ को जुलाईसम्ममा अन्तर्राष्ट्रिय जहाज पोखरामा ल्याण्ड गर्ने लक्ष्य निर्माण कम्पनीको छ ।

अहिलेसम्म विमानस्थलमा जहाज पार्किङ, धावन मार्ग (रनवे), ट्याक्सीवे निर्माण कार्य पूर्णरुपमा सकिएको र टर्मिनल भवन, एटीसी टावर, कार्गो भवन, ह्याङ्गर, फायर फाइटिङ लगायतका भवन निर्माण अन्तिम चरणमा पुगेका छन् । यी भवनहरूमा पनि प्लाष्टरको काम नै बाँकी रहेको आयोजना प्रमुख मुनंकर्मी बताउँछन् ।

यसैगरी पृथ्वी राजमार्गदेखि विमानस्थलसम्मको सडक निर्माण कार्य पनि ढलानबाहेक सबै सकिएको छ । करिब २ किमि लामो उक्त सडक २ तर्फ गरी २/२ लेनको बनाउन लागिएको छ ।

२ हजार ५ सय मिटर लामो र ४५ मिटर चौडाई रहेको धावनमार्ग नेपालकै पृथक शैलीको धावनमार्ग हो । विमानस्थलमा जुनसुकै क्षमताका वाइडवढी जहाज ल्याण्ड गर्न सकिन्छ । तर यहाँको भौगोलिक धरातलका कारण बोइङ ७.७ र एयर बस ३२० क्षमताका जहाजमात्र ल्याण्ड गर्न सकिनेछ ।

विमानस्थल ३७ सय रोपनी क्षेत्रफलमा फैलिएको छ । अझै केही जग्गा अपुग भएपछि दक्षिण र पश्चिम क्षेत्रमा १०४ रोपनी जग्गा विमानस्थलले अधिग्रहण गर्दैछ । जसका लागि फागुन महिनाभित्रमा मूआव्जा वितरण कार्य शुरु हुने आयोजना प्रमुख मनंकर्मीले बताए ।

यति जग्गा भएपछि २०२१ को जुलाईमा विमानस्थल सञ्चालन गर्न कुनै समस्या नहुने तर भविष्यमा यतिमात्र जग्गाले नपुग्ने र थप जग्गा आवश्यक पर्न सक्ने आयोजना प्रमुख ई. विनेश मुनँकर्मी बताउँछन् ।

नयाँ अन्तर्राष्टिय विमानस्थल निर्माण भए पश्चात् हाल चालु अवस्थाको पोखरा विमानस्थल के गर्ने भन्ने विषय अन्योल छ । पर्यटकीय शहर तथा गण्डकी प्रदेशको राजधानी पोखरामा भने विमानस्थल निर्माण भैसकेपछि पर्यटन व्यवसायीमा राहत मिल्ने देखिन्छ र समग्र गण्डकी प्रदेशवासीले कोल्टो फेरेको महसूस गर्नेछन् ।

भिडियो रिपोर्ट