नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जनयुद्ध दिवसको अवसरमा फागुन १ गतेलाई सहिद स्मृति दिवसको रूपमा मनाउने भएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बिचको सहमतिका आधारमा तल्लो तहका कमिटीलाई जनयुद्ध दिवसलाई सहिद स्मृति दिवसको रूपमा मनाउन निर्देशन दिइएको हो।
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयबीचको सहमतिका आधारमा फागुन १ लाई सहिद स्मृति दिवसको रूपमा मनाउने निर्णय गरिएको जानकारी दिए। उनले भने, ‘फागुन १ लाई जनयुद्ध र जनआन्दोलनका सहिदलाई स्मरण गर्ने गरी सहिद स्मृति दिवसको रूपमा मनाउने सहमति भएको छ। त्यसैअनुसार तल्ला तहका सबै कमिटीले सहिद स्मृति दिवसको अवसरमा फागुन १ गते विभिन्न कार्यक्रम आयोजना गर्दै छन्।’
नेपाल कम्युनिस्ट पार्टी नेकपा बनेपछि तत्कालीन विद्रोही नेकपा माओवादीले थालेको जनयुद्धलाई हेर्ने दृष्टिकोणमा एकरूपता थिएन। अब भने जनयुद्ध र जनआन्दोलनका सहिदलाई स्मरण गर्ने गरी सहिद स्मृति दिवसको रूपमा मनाउने तयारी नेकपाले गरेको छ।
पूर्व माओवादीले जनयुद्ध दिवसको रूपमा मनाउने गरेको थियो भने पूर्व एमालेले जनयुद्धलाई भन्दा जनआन्दोलनलाई प्राथमिकता दिएको थियो। अध्यक्षद्वयबीचको सहमतिका आधारमा अब नेकपाले फागुन १ गतेलाई जनयुद्ध र जनआन्दोलनका सहिदको स्मरण गर्ने गरी औपचारिक कार्यक्रम गर्ने भएको छ। फागुन १ गतेका लागि कर्णाली प्रदेश र प्रदेश ५ का नेकपाका प्रदेश कमिटीले परिपत्र जारी गरेर जनयुद्ध दिवस मनाउने निर्णय गरिसकेका छन्।






