पत्रकार कृष्ण न्यौपाने बन्दीपुर केवलकार पर्यटन एवं उद्यमशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । न्यौपाने राष्ट्रिय समाचार समिति र समाधान दैनिकमा आवद्ध छन् ।
बन्दीपुर केवलकार प्रालिद्वारा स्थापित यो पुरस्कार शनिबार कम्पनीको ५ औं साधारणसभामा अर्पण गरिएको हो । बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णसिं थापा, कम्पनीका अध्यक्ष रामचन्द्र शर्मा, नेपाल भ्रमण वर्ष २०२० का प्रदेश संयोजक जुद्ध गुरुङ लगायतले पत्रकार न्यौपानेलाई सम्मानपत्र, १ लाखको कम्पनीको सेयर प्रमाणपत्र र दोसल्लासहित सम्मान गरेका हुन् ।
बन्दीपुर र आँबुखैरेनी गाउँपालिका क्षेत्रको पर्यटन प्रवद्र्धन एवं उद्यमशीलतामा चालिएका कदमलाई प्रचारप्रसारमार्फत सहयोग गरेकोमा न्यौपानेलाई पुरस्कृत गरिएको हो ।
प्रतिभा छनोट समितिमा कम्पनीले निर्देशक तारानाथ उपाध्याय संयोजक, प्रमुख कार्यकारी अधिकृत किरण पोख्रेल, पत्रकार दुर्गाप्रसाद शर्मा लगायत सदस्य थिए ।
केबलकार परियोजना पूर्ण चरणमा सुरु भएको १ वर्षपछि पुरस्कारको राशी ३ लाख पु¥याउने र वार्षिक ३ पत्रकारलाई पुरस्कृत गरिने कम्पनीले जनाएको छ ।
बन्दीपुर गाउँपालिका ४ ठूल्ढुंगामा निर्माण भइरहेको बन्दीपुर पर्यटन पूर्वाधारयुक्त परियोजना १ अर्ब ५६ करोडको लागतमा बनिरहेको छ । १ वर्षभित्र केवलकार सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ ।




