पार्टी उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारको मुद्दालाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ ।
सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा आफ्ना नेताविरुद्ध बालुवाटार प्रकरणमा मुद्दा चलाएको आरोप लगाउँदै कांग्रेसले संसद बैठक अवरुद्ध गरेको हो ।
ललिता निवासको जग्गामा छानी छानी अख्तियारले मुद्दा चलाएको कांग्रेसले आरोप लगाएको छ ।
कांग्रेस सांसदहरूले विरोध गरेपछि सभामुख अग्नि सापकोटाले बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्न संलग्न रहेको आरोपमा पूर्व उपप्रधानमन्त्री एवम् काँग्रेस नेता विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो ।






