पोखरा महानगरपालिका वडा नं. ४ ले ‘नाम एकातिर, काम अर्को तिर’ गरेको छ । बिहीबार ‘बालबालिकासंग वडाध्यक्ष’ नाममा कार्यक्रम शुरुआत गरिएको छ । यो कार्यक्रमको मुख्य उद्देश्य स्कूल जान नपाउने र सडक बालबालिकाको समस्या बुझ्ने हो ।
निजी र सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी बीचको बुझाइबारे जानकारी लिने र ती बालबालिकाको बुझाइमा एकरुपता ल्याउने कार्यक्रमको उद्देश्य थियो ।
यस्तै, स्कूल जान नपाउने बालबालिकालाई स्कूल जाने वातावरण सृजना गर्ने र बालबालिकामा नयाँ सोंचको विकास गर्ने कार्यक्रमको अर्को उद्देश्य थियो ।
कार्यक्रमको नाम ‘बालबालिका’ भनियो तर सुविधासम्पन्न निजी विद्यायकामात्र, त्यो पनि आर्थिक रुपमा सम्पन्नशाली विद्यार्थी सहभागी गराइयो ।

वडा कार्यालयको आडैमा रहेको सरकारी विद्यालय नवीन माविका विद्यार्थीलाई बेवास्ता गर्दै पश्चिमाञ्चल उच्च माविका कक्षा ११ र १२ का विद्यार्थी सहभागी गराइयो ।
योसम्मकी वडाभन्दा बाहिरका विद्यार्थी कार्यक्रममा सहभागी थिए । कार्यक्रममा करिब ५० जना विद्यार्थी सहभागी भएकोमा वडा नं. ४ का २ जना मात्र विद्यार्थी थिए ।

कार्यक्रममा सहभागी बालबालिका भनिएका ति विद्यार्थीले वडाभित्र अपांगमैत्री सडक नबनेको, बालबालिकाले वडा तथा महानगरबाट पाउने अधिकार र सुविधाबारे वडाध्यक्षसंग जिज्ञाशा राखेका थिए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले कार्यक्रम निकै राम्रो र सान्दर्भिक भएको भन्दै सरकारी विद्यालय र सडमा रहेका बालबालिका सहभागी गराउनुपर्ने सुझाव दिए ।
श्रेष्ठले कार्यक्रममा सहभागी विद्यार्थीलाई ‘तपाइँहरू वडा नं. ४ भित्रकै कति हुनुहुन्छ ?’ भनेर सोध्दा २ जना विद्यार्थीले मात्र हात उठाए । उनले वडाको कार्यक्रममा सकभर वडाभित्रकै बालबालिका सहभागी गराउनुपर्ने बताए ।
उनले वडाध्यक्ष, वडा कार्यालयदखि सम्बन्धित निकायलाई जवाफदेही बनाउन सबै लाग्नुपर्नेमा जोड दिए । बालबालिकाकासंग सम्बन्धित के कस्ता कामहरू भएका छन् त्यो बारेमा वडा र महानगरसंग जानकारी लिन सुझाव दिए ।
महानगरका प्रशासन प्रमुख भरत पौडेलले बालबालिकासंग सम्बन्धित पूर्वाधार बनाउन अझै समस्या रहेको र केही समय लाग्ने बताए । उनले केन्द्रले कानून नबनाई स्थानीय तहले बनाउन नमिल्ने भएकाले केही ढिलाई भएको स्पष्ट पारे ।
महानगरले हालसम्म ६५ वटा कानून पास गरेको भन्दै उनले अझै केही कानून प्रक्रियामा रहेको बताए । ‘प्रत्येक वडामा वडास्तरीय र महानगरमा महानगरस्तरीय बालमञ्च गठन गरेर बालबालिकाको समस्या बुझ्ने र सोही बमोजिम नीति निर्माण हुन्छ’, उनले भने ।
पोखरामा सडक बालबालिकाको समस्या अझै रहेकाले समाधानका लागि पहल भइरहको पौडेलले स्पष्ट पारे । ‘पोखरामा ९ वटा जति बालगृह छन् । तिनैमार्फत सडक बालबालिकाको समस्या समाधान हुनेछ’, उनले भने ।
वडाध्यक्ष शंकर प्रसाद बाँस्तोलाले कार्यक्रमले बालबालिकाको शैक्षिकसंगै अतिरिक्त क्षमताको विकास गर्न आवश्यक रहेको बताए ।

उनले कार्यक्रमले बालबालिकाको समस्या बुझ्न र समाधान गर्न सहज हुने विश्वास व्यक्त गरे । वडाध्यक्ष बाँस्तोलाले निजी र सरकारी स्कूलमा अध्ययनरत विद्यार्थी बीचको खाडल पुर्नका लागि स्थानीय तहले भूमिका खेल्नुपर्ने महसूस गरी कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
उनले संविधानमा लेखिए अनुसार बालअधिकार रक्षा गर्न वडा कार्यालय गम्भीर रहेको स्पष्ट पारे ।
कार्यक्रममा सहभागी कतिपयले बजेट सक्नकै लागि वडाले यस्तो कार्यक्रम गरेको गुनासो गरे । ‘बालबालिका भनियो निजी विद्यालयका विद्यार्थी सहभागी गराइयो । अनि कसरी भयो बालबालिकासंग वडाध्यक्ष ?’, उनीहरूको प्रश्न छ ।
यो विषयमा वडाध्यक्ष बाँस्तोलासंग प्रश्न गर्दा शुरुवाती काम गर्दा यस्तै हुने बताए । ‘उनीहरू बालबालिका पनि हुन्, विद्यार्थी विद्यार्थी पनि हुन् । त्यसैले उनीहरूलाई सहभागी गराएका हौं । आगामी दिनमा सरकारी विद्यालयका विद्यार्थी सहभागी गराउँछौं’, उनले भने ।







