गच्छादारसहित १७५ जनाविरुद्ध मुद्दा दायर, गच्छदार सांसदबाट निलम्बित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्न संलग्न रहेको आरोपमा पूर्व उपप्रधानमन्त्री एवम् काँग्रेस नेता विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले बुधबार उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले नेता गच्छदारसहित पूर्व सचिवहरु दिनेशहरि अधिकारी, दिप बस्न्यात, छबिराज पन्त, भाटभटेनीका मालिक मिनबहादुर गुरुङ, डम्बर श्रेष्ठ, शोभाकान्त ढकालसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ । ढकाललाई ३९ करोड २७ लाख ६५ हजार बिगो दाबी गरेको छ ।

विशेष अदालतले आरोप पत्र आइसकेको र रुजु गर्ने काम भइरहेको जनाएको छ ।