किन बनेनन् कास्कीका पालिकामा पार्टी कमिटी ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीका पोखरा महानगरपालिका बाहेक ४ स्थानीय तहमा पार्टी कमिटी बनेका छैनन् । कास्कीमा १ महानगर र ४ गाउँपालिका गरी ५ स्थानीय तह छन् । स्थानीय तहमा कमिटी नहुँदा पार्टीका गतिविधि करिब ठप्प छन् भने कार्यकर्तामा निराशा छाएको छ ।

२०७५ जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच केन्द्रमा पार्टी एकता भएको थियो । महानगरका इन्चार्ज, अध्यक्ष, सचिव र ३३ वटै वडामा अध्यक्ष, सचिव तथा वडा कमिटी बनेका छन् । तर नेकपाको महानगर कमिटी अझै बन्न सकेको छैन । महानगरपालिकाका वडामा भने पार्टीका आन्तरिक भेला, बैठक तथा प्रशिक्षण बेला बेलामा हुने गरेका छन् ।

माछापुच्छ«े, अन्नपूर्ण, रुपा र मादी गाउँपालिकाका वडाका अध्यक्ष र सचिव जिल्लाले तोकिसकेको छ । तर, सदस्यको टुंगो लागेको छैन । साबिक एमाले र माओवादी केन्द्रले समान २ गाउँपालिकाको नेतृत्व गर्ने गरी भागवन्डा भएको थियो । नेतृत्वका लागि पात्र चयनको सकस एकातिर परेको छ भने जिल्ला नेतृत्व र प्रदेश समितिको प्राथमिकता यो परेको देखिँदैन ।

नेकपा कास्कीले भने पालिका स्तरमा कमिटी बनाउन प्रक्रिया सुरु भइसकेको दाबी गरेको छ । उपनिर्वाचन, राष्ट्रियसभा सदस्य निर्वाचन लगायतका कारणले ढिलाइ भएको नेकपा कास्की सचिव बखानसिंह गुरुङले बताए । उनले भने, ‘पार्टीको आन्तरिक कारणले नै तल्ला कमिटीको पूर्णतामा ढिलाइ भएको छ । अब यसलाई हामी तुरुन्त पूरा गर्नेतर्फ लाग्छौं ।’

जिल्लाले पालिकाको नेतृत्व चयन गरी अनुमोदनका लागि प्रदेश कमिटीलाई सिफारिस गर्नुपर्ने प्रावधान छ । प्रदेशले अनुमोदन गरीपछि त्यसले पूर्णता पाउँछ । महानगर कमिटीको नामावली भने जिल्लाले प्रदेशलाई अनुमोदनका लागि पठाइसकेको स्रोत बताउँछ ।