माघ २१ गते २०७६

ताजा समाचार

माघ २१ गते २०७६

पृथ्वीनारायण क्याम्पसमा पठनपाठन सुचारु

पृथ्वीनारायण क्याम्पसको पठनपाठन मंगलबारदेखि खुलेको छ । समान कामको समान ज्याला माग गर्दै पढाउन छोडेर शिक्षकहरू ८ दिनदेखि आन्दोलनमा उत्रिएका थिए ।

सोमबार बेलुका त्रिभुवन विश्वविद्यालयबाट आएका ३ सदस्यीय कार्यदल र विद्यार्थी संगठनको रोहबरमा बसेको बैठकले विवाद मिलाएको हो ।

‘हिजो राति १० बजेसम्म वार्ता ग¥यौं,’ अनेरास्ववियुका कास्की जिल्ला अध्यक्ष विवेक देवकोटाले भने, ‘हामीसहित टियुले पठाएको ३ सदस्यीय कार्यदल पनि थियो ।’

आन्दोलनरत आंशिक शिक्षकहरूलाई मासिक वेतन अनुसारको तलब दिने सहमति पछि पढाई सुरु भएको उनले सुनाए ।

त्रिभुवन विश्वविद्यालयले करारमा नियुक्ति दिएका शिक्षकहरूले पाउने तलब बराबरको तलब दिने सहमति पछि पठनपाठन सुरु भएको उनले बताए ।

क्याम्पसका २ सय १६ आंशिक शिक्षकमध्ये पार्ट टाइमको लोडअनुसार करार शिक्षकले पाएको सेवा सुविधा पाउने उनले सुनाए ।

‘उनीहरू करार टिचर पनि होइनन्,’ उनले भने, ‘पार्ट टाइम पनि भएनन् । क्याम्पसले नियुक्त गरेका शिक्षक भए । मासिक तलब पाउने भए, दैनिक ज्यालादारी हट्यो, यो खालको सहमति भयो ।’

आंशिक शिक्षक बिष्णु गौतमले आफूहरूको मागप्रति त्रिभुवन विश्वविद्यालयबाट आएको कार्यदल सकारात्मक रहेको बताए । दैनिक ज्यालादारीमा काम गर्ने देशैभरिका शिक्षकहरूको समस्या समाधान गर्ने आश्वासन दिएको उनले सुनाए ।

‘त्यसमा पनि पिएनलाई फस्ट प्रायरेटीमा राख्छु, भन्दाभन्दै त्यो मिल्दैन,’ उनले भने, ‘यो समस्या जसरी पनि चाँडो समाधान गर्छु भनि सकेपछि हामीले पढाउन सुरु गर्यौं ।’

जाडो विदा, चुनाव र सेमेस्टर वाइजका परीक्षालाई मध्यनजर गर्दै एक महिना भित्रमा समस्याको समाधान गर्ने बताएपछि सहमतिमा आएको उनले सुनाए । क्याम्पस प्रमुख आंशिक शिक्षकहरूलाई तत्काल मासिक ज्यालादारी दिने सहमतिपछि पठनपाठन सुरु भएको बताए ।

आगामी सिनेटका पहिलो बैठकमा करार नराख्ने निर्णय फुक्का गरेर करारमा लै जाने सहमतिपछि विवाद साम्य भएको उनले सुनाए । क्याम्पसमा १० हजार बढी विद्यार्थी अध्ययनरत छन् ।

२०६३ देखि पिएनमा आंशिक शिक्षकहरूले अध्यापन गर्न सुरु गरेका थिए । माघ १३ देखि आंशिक शिक्षहरू पढाउन छोडेर आन्दोलनमा उत्रिएका थिए ।