अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी अध्ययन गर्न पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलको पहिलो बैठक सोमबार सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा बसेको छ ।
नेकपाको केन्द्रीय समिति बैठकमा एमसएसीबारे अध्ययन गरेर मात्रै संसदले पारित गर्नुपर्ने कुरा उठेपछि झलनाथ खनालको नेतृत्वमा आइतबार तीन सदस्यीय अध्ययन कार्यदल बनेको हो ।
वरिष्ठ नेता खनालको संयोजकत्वको कार्यदलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य भीम रावल सदस्य रहेका छन् । संयोजक खनाल र सदस्य रावल एमसीसीको विपक्षमा देखिएका छन् भने परराष्ट्रमन्त्री ज्ञवाली संसदबाट पारित हुनुपर्छ भन्ने पक्षमा छन् ।
पार्टीभित्र एमसीसी पास गर्नुपर्ने पक्षका तथा विपक्षी धारणा राख्नेहरु समेटिएको कार्यदललाई त्यसको निचोडका लागि १० दिनको समय दिइएको छ ।
आज पहिलो बैठक बसेर कार्यदलले एमसीसीबारे दस्तावेजहरुको अध्ययन अनुसन्धानका लागि गृहकार्य थालेको स्रोतले बताएको छ ।






