के गर्दैछन् महरा ?, भेट्न जानेको लर्को

कात्तिक २५ गतेदेखि डिल्लीबजार कारागारमा रहेका पूर्व सभामुख कृष्णबहादुर महरालाई भेट्न जानेहरूको लर्को नै लाग्ने गरेको छ । अहिलेसम्म उनलाई भेट्न १० हजार बढी आफन्त र कार्यकर्ता पुगेको कारागारको भनाइ छ । तर उनलाई सामान्य कार्यकर्ता र आफन्तबाहेक भीआईपी भने जाँदैनन् ।

‘अरू कैदीलाई भेट्न फाट्टफुट्ट रूपमा भए पनि शीर्ष नेता नेताहरू आइरहेका’, कारागारका एक कर्मचारी भन्छन्, ‘तर महराज्यूलाई भेट्न शीर्ष नेताहरू कोही नआएको देख्दा अनौठो लागेको छ ।’

त्यसो त महरा आफैं पनि सञ्चारकर्मी र कर्मचारीसँग भेट्न अनिच्छुक छन् । कारागार चलान भएलगत्तैदेखि उनले कर्मचारीसँग पत्रकार आए भेट्न नदिनू भनेको उल्लेख छ ।

सन्चो बिसन्चो सोध्ने कर्मचारीलाई उनले ठीक छ भनेर टाउको हल्लाउने गरेका छन् । महराको दायाँ बाया २५/३० जना कैदी छन् । तर उनी ती कैदीहरूसँग पनि खासै बोल्दैनन् ।