वि.स.१९९७ साल माघ महिनाको १० गते बिहीबार, औंसीपछिको मध्ये अँधेरी रातमा चारैतिर कुकुर भुकेको आवाज र सन्नाटा मात्र ब्याप्त थियो । काठमाण्डौमा हालको त्रिपुरेश्वरबाट कालिमाटी जाने बाटोकोबीचमा पचली टेकु,खरीको बोट वरिपरी केही व्यक्ति झुरुप्प जम्मा भएका देखिन्थे । त्यो खरीको बोटमा कसैलाई फाँसीदिन डोरी झुन्ड्याइ राखिएको थियो ।
त्यतिबेलै पर सडकतिरबाट बीस–पचिसजना मान्छेहरुको हुल मैन्टोलबत्ति बालेर त्यतैतिर आउदै गरेको देखेर त्यहाँ भएका प्राय सबैजना भागे । तर १ जना चाहिं भागेनन् । त्यो हुल बाटो लागेपछि भागुवाहरु फर्किए । ती फर्किएका मानिसहरु अरु कोहि नभएर राणा तानाशाहीका भाइभारदार नरशमशेर, हरि शमशेर, रंगबिक्रम, जेलर खड्गबहादुर सुनुवार र अरु सिपाहीहरु थिए । उनीहरु भोज खाएर आएका ती हुल मानिसहरुलाई विद्रोही जनता सोचेर भागेका थिए ।
राणा शाहीका यी जल्लादहरुले जेलमा पकाईरहेको खानेकुरा समेत खान नदिई एकजना व्यक्तिलाई सैनिक ट्रकमा हालेर भर्खरै पचली ल्याईपुर्याएका थिए । उनीहरुले फाँसीको सजायँ दिन ल्याएका ती व्यक्ति भने नडराईकन त्यहि उभिरहेका थिए ।
भाइभारदारहरु त्यसरी पर भागेको मौका पाउँदा उनले भागेर ज्यान जोगाउन पनि सक्थे होलान् तर यसरि मौका पाउँदा समेत उनि भागेनन् । भाइभारदार जल्लादहरु फर्केर आएपछि उनले आफ्नै हातले आफ्नो घाँटीमा फाँसी लगाए । अनि आफूले टेकिराखेको ढुंगाको भर्याङ् आफ्नै खुट्टाले लडाए ।
यसरि त्यो मध्यरातमा नेपाली माटोका एकजना शान्त,निडर र कल्याणकारी भावना बोकेका महापुरुषको घांटी कस्सिँदै गयो । उनको सम्पूर्ण चेतना उनको कस्सिएको घाँटीको कारण निस्सासिएको सास जस्तै एकछिन छटपटायो । शरीरले मृत्युसंग जुध्ने आफ्नो स्वाभाविक प्रक्रिया चालु गर्न खोज्यो, त्यसैले त्यो एकछिन डोरीमा सुस्तरी हल्लियो र विस्तारै शान्त भयो ।
यसरी डरपोक जल्लादहरु डरले भाग्दा आफूले पनि भागेर केहि दिन नै सही, बढी बाँच्ने लोभ राखेका भएपनि उनि बाँच्न सक्दथे,तर उनले त्यो लोभ गरेनन् । नेपाली जनतालाई बिउँझाउन र जोडले घचघच्याउनका निम्ति मरेर उदाहरण बन्ने अठोट गरे ।
यसरी डरपोक जल्लादहरु डरले भाग्दा आफूले पनि भागेर केहि दिन नै सही, बढी बाँच्ने लोभ राखेका भएपनि उनि बाँच्न सक्दथे,तर उनले त्यो लोभ गरेनन् । नेपाली जनतालाई बिउँझाउन र जोडले घचघच्याउनका निम्ति मरेर उदाहरण बन्ने अठोट गरे ।
यसरी नेपाली जनतामा जागृतिको बिउँ रोप्न आफ्नो प्राण आहुति गर्ने व्यक्ति अरु कोही नभएर बि.स.१९९७ सालमा राणाहरुद्वारा मृत्युदण्ड दिइएका शहीदहरु मध्यका एक शहीद शुक्रराज शास्त्री थिए । नभाग्ने त्यो एक्लो वीर उनै शहीद शुक्रराज शास्त्रीनै थिए ।
जीवनी
शुक्रराज शास्त्रीको जन्म बि.सं.१९५० साल भाद्र १३ गते रक्षाबन्धन पूर्णिमाका दिन भारतको बनारसमा पिता माधवराज जोशी र माता रत्नमायाको सुपुत्रको रुपमा भएको थियो ।उनका पिता माधवराज जोशी ठूला ज्योतिष थिए ।
उनि ज्योतिष विद्याको अध्यनका लागि नै बनारसमा बसेका थिए । आफ्नै पिताले ‘भविष्य अति उत्तम र ठूलो छ’ भन्ने भविष्यवाणी गरेतापनि पिताले सोचेको भन्दा भिन्न भविष्य शुक्रराजको देखियो । उनि डेढबर्षको हुँदा माधवराज जोशीको परिवार काठमाण्डौं आएको थियो । त्यतिबेला उनका पिता–माताले आफ्नै काखको बालक शक्तिशाली राणासरकारको पतनको कारण बन्ने छ भन्ने कल्पनासम्म पनि गरेका थिएनन् ।
शुक्रराज शास्त्रीले काठमाण्डौंमा केहि समय बिताएका थिए । उनको पढाइ घरबाट नै शुरु भएको थियो । उनका पिताले उनलाई घरमै संस्कृत पढाएका थिए । पछि उनि पढ्न भनेर दाजु अमरराजसंगै दरवार हाइस्कूलमा भर्ना भए ।
शुक्रराज शास्त्रीका पिता माधवराज जोशी ‘आर्यसमाज’का सदस्य थिए । उनले बि.स. १९५० देखि नै विशेष गरेर काठमाण्डौ र पोखरामा आर्यसमाजको प्रचारप्रसार गरेका थिए ।
उनि जाग्रत मान्छे थिए । त्यतिखेरको नेपाली समाजमा राजनीतिक कार्य असम्भव भएकाले उनि सामाजिक र धार्मिक क्रान्तिद्वारा जनतामा चेतना जगाउन चाहन्थे । नेपाली समाजमा ब्याप्त पुरोहित बर्गको अनुचित दवाब, जातपात, छुवाछुत, कर्मकाण्ड, श्राद्द, दान, मुर्तिपुजा इत्यादिको उनि बिरोध गर्ने गर्दथे ।
उनले आफ्ना बाबुआमाको अन्त्येष्टि क्रिया पनि फरक ढंगले गरे । लास जलाउन लैजाँदा बाटामा रोएर जाने, आफन्तहरुलाई भोज ख्वाउने, पुरोहितहरुलाई मृतकको नाममा दान दिने काम उनले गरेनन् । यसबाट जनचेतना बढ्छ,रुढिवाद र पुरोहितवाद खतम हुन्छ भन्ने राणा शासक चन्द्रशमशेर र बडा गुरुजू प्रयागराजले बुझेका थिए । यसैले दुवै मिलेर माधवराज र उनका गुरू गुरुदत्त (भारतीय नागरिक) लाई चन्द्रशमशेरको बैठकमा गुरू पुरोहित र पण्डितका सामू शस्त्रार्थ गर्न बोलाइयो ।
त्यहाँ माधवराजले जातपात, श्राद्द, मर्दापर्दा पुरोहितलाई दिइने दानको र पुरोहितवादको तर्कपूर्ण रुपमा खण्डन गरे । त्यतिबेला उनले शुद्रले र स्वास्नीमान्छेले वेद पढ्नु हुन्छ,गायत्री मन्त्र पनि जप्नु हुन्छ भन्ने बिचार राखे ।
मूर्तिपूजाको प्रसङ्ग उठ्दा “पशुपतिको मूर्ति पनि ढुंगाकै कुदिएको हुनाले पूजा गर्नु जरुरी छैन भन्ने बिचार राख्दा, त्यसमा समर्थन गर्ने उनका गुरू गुरुदत्त देशनिकाला गरिए भने माधवराजलाई बडागुरूजुले ‘नेपालमा राजादेखि मानिएको पशुपतिनाथलाई ढुंगा’ भन्नेलाई कुट्न पाउ महाराज’ भनी नृशंस तरिकाले कुटपिट गरे,गराए ।
माधवराजको टाउको फुट्यो, रगतको टाटैटाटो भएको लुगामा माधवराजलाई प्रहरीले सिंहदरवारबाट तीन सहर घुमाई थानामा ल्याएर थुन्यो । उनका छोराहरु अमरराज र शुक्रराजलाई दरवार स्कूलबाट निकालियो ।
‘आर्यसमाजीहरुको हातको पानी चल्दैन’ भन्ने प्रचार गरियो । बाबुको बिचारबाट छोराहरु प्रभावित नहुन भनेर श्री ३ र पण्डितहरुले यस्तो गरेका थिए । माधवराजकी श्रीमती रत्नमाया र परिवारको अरु नातेदारहरुसंग सम्बन्ध टुट्यो ।
चिनेजानेकाले नदेखेजस्तो गर्न थाले । चारैतिरको यस्तो बेइज्जतीबाट बच्न उनीहरुले बल्लबल्ल कमान्डर इन चिफ भीम शमशेरबाट बीरगंज जाने राहदानी पाए र बीरगंज गए । त्यसबखत शुक्रराज १२ बर्षका थिए ।
थुनाबाट कैद मुक्त हुनु २० दिन अघि जुक्ति पुर्याएर भागेपछि माधवराज आफ्नो परिवारसहित भारत पसे । ज्योतिष पिताबाट संस्कृत सिक्न थालेका उनका छोराहरुले भारतीय आर्यसमाजद्वारा स्थापित सिकंदरवादको गुरुकुलमा थप प्रारम्भिक शिक्षा प्राप्त गरेका थिए । उक्त गुरुकुलका अध्यक्ष पण्डित मुरारीलाल शर्माको ब्यबस्थापनमा शुक्रराज शास्त्रीले शास्त्री परीक्षा पास गरे ्: त्यसपछाडी नै उनलाई ‘शुक्रराज शास्त्री’ भन्न थालिएको थियो । पछि उनले पन्जाब विस्वबिध्यालयबाट एम.ए. को परीक्षा पनि दिएका थिए ।
’यस प्रकारको औपचारिक शिक्षाबाहेक शुक्रराज शास्त्रीले आफ्नो कष्टपूर्ण जीवन संघर्सबाट पाएको शिक्षा धेरै महत्वपूर्ण थियो । त्यसैले उनलाई जीवन संघर्समा इस्पातजस्तै दह्रो बन्न मद्दत गरेको थियो : कुनै कसुर नगरी आफ्ना बाबुलाई निर्घात कुटेर तीन सहर घुमाई जेलहाल्नु , बाबु जेल परेपछि आफुलाई स्कूलबाट निकाल्नु,पानी नचल्ने घोषणा गर्नु इत्यादिबाट आफू र आफ्नी आमासहित परिवारले जुन अवहेलना बेहोर्नु पर्यो ।
सानै उमेरमा हण्डर खानु पर्यो,आफ्नी आमाले केटाकेटी हुर्काउन लुगा सिएर जुन संघर्ष गर्नुपर्यो र अन्तमा आफूहरु बिदेशिनु पर्यो,त्यसबाट राणा सरकारको नेपाली जनताप्रतिको क्रुर नीति उनलाई प्रष्ट भएको थियो ।
राणा शासकहरु जनताप्रति कति गैरजिम्वेवार थिए,उनिहरु मान्छेलाई जनावारसरहको ब्यबहार गर्दथे भन्ने कुरा उनका सामु प्रष्ट भयो । यसबाट शुक्रराजलाई अन्याय,अत्याचारको बिरोध गर्ने भाबना, क्रान्ति गर्ने प्रेरणा,संघर्समा दृढतापूर्बक लाग्ने र हांसीहांसी ज्यान दिन पनि सक्ने साहस प्राप्त भएको अनुमान गर्न सकिन्छ्र ।
शुक्रराज शास्त्रीले भारतको अलाहावादस्थित डि.ए.भी. स्कूलमा ४ वर्षसम्म प्रधान अध्यापक भएर काम पनि गरेका थिए । उनले हिन्दू महासभाका लागि दार्जि्लिंगमा पनि काम गरेका थिए । उनले भारतका चर्चित समाज सुधारक मदनमोहन मालवीयसंग २ वर्षसंगै काम गरेका थिए ।
शुक्रराज शास्त्रीको पहिलो विवाह बि.स.१९७५ फागुनमा काठमाण्डौंकै खड्ग प्रसाद गोर्खालीकी छोरी पद्मिनीदेविसंग भएको थियो । शुक्रराज शास्त्री भारतमा नै रहंदा उनको मृत्यु भयो । पछि बि. स. १९९४ मा उनको दोस्रो विवाह आदिभक्तकी छोरी शहीद धर्मभक्त माथेमाकी बहिनी मेनका देविसंग भएको थियो ।
विवाहको १ वर्ष पछडि नै आफ्ना पतिसंग उनको विछोड भएको थियो । विरहव्यथाले गर्दा सुत्केरी भएको केही दिन पछाडि नै उनको र केहि घण्टा पछाडि उनकी नवजात छोरी दुबैको मृत्यु भएको थियो । शुक्रराजकी श्रीमतीले अन्तिम समयमा आफ्ना पतिलाई भेट्न गरेको याचना क्रुर राणासरकारले स्वीकारेन र त्यही निराशा र चिन्ताको बीचमा उनको मृत्यु भयो ।
गिरफ्तारी र मृत्युदण्डसम्मको यात्रा
वि.स.१९९५ मङ्सिर १३ गतेका दिन काठमाण्डौं उपत्यकामा बिहानैदेखि एउटा तातो खबर फैलिएको थियो । मानिसहरु एकआपसमा फुसफुस कुरा गरिरहेको देखिन्थे । ‘आज दिउसो ३ बजे शुक्रराज शास्त्रीले इन्द्रचोकमा भाषण गर्ने रे, गीताको कर्मयोगबारे प्रवचन दिने रे’ भन्ने हल्ला फैलिएको थियो ।
त्यसबखत जनतालाई भाषण र आमसभाबारे त्यति धेरै जानकारी थिएन , पुराणवाचन र प्रवचन भन्ने चाहिं बुझ्थे । राणाशाही जस्तो बन्द समाजमा आमसभामा बोल्नु भनेको ज्यानको बाजी लगाउनुपर्ने थियो ।
क्रुर राणाहरुको तानाशाही खत्तम पारेर देशमा प्रजातन्त्र स्थापना गर्न, जनतालाई जगाउन कसै न कसैले यो दुस्साहस गर्ने पर्ने थियो । त्यसैले आमसभामार्फत यस्ता कार्यहरु गर्ने समितिको निर्णय भएबमोजिम इन्द्रचोकमा राखिएको आमसभामा सर्बप्रथम बोल्न शुक्रराज शास्त्री अघि सरेका थिए ।
निश्चित समयमा शुक्रराज शास्त्री इन्द्रचोक पुगे र भाषण शुरु गरे । त्यसबखत उनले देशको राजनीतिक,आर्थिक र सामाजिक बिषयमा बोले । राणा सरकारको नीतिको आलोचना गरे र समयको माग बुझेर अघि बढ्न सरकारलाई जोड पनि गरे । उनिपछि त्यहि सभामा गंगालालले पनि बोले । उनले ’मानिसलाई मानिस भएर बाँच्न सुहाउने अधिकार लिन’ सरकारसंग संघर्स गर्न जनतालाई आह्वान गरे ।
यो नै राजधानीमा त्यस्तो पहिलो आमसभा थियो,जसमा खुलेआम सरकारको आलोचना र भण्डाफोर गर्नुका साथै हक लिन संघर्स गर्नसमेत आह्वान गरिएको थियो । यो आमसभाको भोलिपल्ट नै शुक्रराज शास्त्रीलाई गिरफ्तार गरियो र ३ वर्षको कैद संजाये दिइयो ।
नेल र हत्कडी लगाइएका शुक्रराजलाई बिशालनगरदेखि टुँडिखेलको जेलसम्म अप्ठ्यारोसंग लागिएको थियो । उनको पछाडि ठुलो भीड जेलको ढोकासम्म पुगेको थियो । भीडलाई उनले ’मेरो चिन्ता नगर्नु, तपाईहरु फर्कनुस’ भनेर हात जोडी बिदा मागेका थिए ।
यो नै उनको आखिरी बिदाइमा परिणत भयो । किनकि उनलाई १९९७ साल कार्तिक २ गते धरपकड गरिएका प्रजापरिषद्का सदस्य र अन्य जुनसुकै संस्थामा काम गर्ने ब्यक्तिहरुसंगै ज्यान सजायँको घोषणा गरियो । त्यसबखत ज्यान सजायं पाउनेमा शुक्रराज ,धर्मभक्त , दशरथ चन्द , गंगालाल लगायत चार जना थिए । शुक्रराज शास्त्रीले जेलमा पनि कठोर यातना बेहोर्नु परेको थियो । उनलाई वीरस्पतालमा गएर उपचार गर्नसमेत दिइएन ।
उनलाई फाँसी दिने फैसला गर्नुअघि जुध्दशमशेरले पटक–पटक ’यी सबैको नाइके तँ होस्, तँलाई पल्टनले कुल्चाएर मार्नुपर्छ,नेवार ,ज्यापू !’ इत्यादि अपशब्द प्रयोग गरी गाली गरिरहन्थे ।
मृत्युदण्डको फैसला
बि.स.१९९७ माघ ६ गते प्रजापरिषद्का सबै सदस्यहरुलाई नेल, सिक्री र हतकडीका साथ पाश्र्ववर्ती सैनिकको घेरामा सिंहदरबारको फुटबल चौरमा लगिए । एकैछिनमा सदर जेलबाट शुक्रराज शास्त्रीलाई पनि हतकडी,नेल र सिक्रीमा त्यहीं ल्याइए । त्यहाँ अघिल्तिर पालमा राणाहरु र चौरमा राणाका भारदारहरु बसेका थिए ।
प्रधानमन्त्रीको बिजुलीगारत सेना एकातर्फ एटेन्शन पोजिसनमा थियो । केहि समयपछि राजा त्रिभुवन,युवराज महेन्द्र र अधिराजकुमार हिमालयलाई पनि त्यहाँ उपस्थित गराइए । जुद्ध शमशेर केहि समयपछि आए ।
जुद्ध शमशेरले राजालाई ‘तपाईहरुलाई किन बोलाएको थाहा छ ? हिन्दुस्थानको नींच जातका सोसलिस्टहरुको इसारामा हाम्रो गाथगादी ताकिरहेका देशद्रोहीहरुलाई के कस्तो दण्डसजायं दिनु पर्ला भनी राय लिन बोलाएको छु’ भने ।
‘यिनीहरु हाम्रो चिहान खन्न आएका रक्तपात मण्डली हुन् । हामीलाई मार्ने षडयन्त्र गरिरहेका छन्’ भनिरहँदा शुक्रराज शास्त्री एक्लैले जुद्ध शमशेरलाई ‘एक्लै बोलिरहनु उचित भएन, यति धेरै भाइभारदारको बीचमा एक्लै बोलिरहन सुहाएन’ भनि बीचैमा कुरा काट्दा जुद्ध शमशेरले रिसाएर ’तँलाई नै मार्नुपर्छ’ भने । यसो भन्दा शुक्रराजले ‘मर्न तयार छु, तर इन्साफ चाहिन्छ, को देशद्रोही हो भन्ने कुरा हामीहरुलाई बताउने मौका दिनुपर्छ । अनि यो सभामा उपस्थिति भाइभारदारहरूले फैसला गरुन कि देशद्रोही को हो ?
यो सुनेर जुद्धशमशेर क्रुद्ध भएका थिए । त्यसबखत जुद्ध शमशेरले “यी अपराधीहरुलाई के गर्ने भनि सोध्दा माहिला गुरुज्यू हेमराज, पण्डित सोमनाथ सिग्देल,काजी रत्नमान,कमान्डर यज्ञविक्रम धमला आदिले विभिन्न धर्मशास्त्र र राजकाज ऐनको दुहाई दिई अभियुक्तहरुलाई ज्यान सजायं दिनुपर्छ भने ।
यसबेला पनि शुक्रराजले ‘महाराजले मात्रै यहाँ बोल्ने,हामीहरुले केही भन्न नपाउने हो भने मेरो केही भन्नु छैन । तर यदि यो सभा हो भने यहाँ उपस्थित सबैले बोल्न पाउनुपर्छ । महाराजको मलाई मार्ने इच्छा छ भने म मरिदिन्छु । आत्मा अमर छ । तसर्थ म मर्न डराउन्नँ । तर महाराजसंग र यो सभासंग म एउटा प्रश्न गर्न चाहन्छु । ज्यान सजायं पाउनुपर्ने खालको अपराध मैले के गरेको छु ? यो स्पस्ट होस् । जेलभित्र बस्दाबस्दै ममाथि अनेकौं आरोप लगाइएका छन् । ती कसरी सावित हुन्छन् ? अर्को कुरा, यहाँ राजद्रोहीहरूलाई धर्मशास्त्रमा तोकिएका विभिन्न सजायंको चर्चा चल्यो । तर शासकको लागि धर्मशास्त्रले तोकेको सजायंहरुको कुरा पनि यहाँ उठाउनु पर्ने हो ।’
उनले यसरी ‘प्रजाहरुलाई शोषित दलित पारी आफ्नो स्वार्थ पूर्ति गर्न खोज्ने शासकहरुलाई पनि धर्मशास्त्रमा सजायं तोकिएको छ, उदृत गर्न पाउ’ भन्दा जुद्ध शमशेरले उनलाई जथाभावी गालीका अपशब्द प्रयोग गरे । ’यी सबैको नाइके तँ होस् तँलाई पल्टनले कुल्चाएर मार्नुपर्छ ’ भने ।
यसपछि श्री ५ र श्री ३ हरु दरवार फर्किए । केही बेरपछि पुनः बिशेष अदालत राजबन्दीहरूसहित सिंहदरवारमा बस्यो । एकजना खरदारले फैसला सुनाए । प्रत्येक राजबन्दीको नाउँका साथै उनलाई तोकिएको सजायं पनि पढियो । उक्त फैसलामा सजायं पाउनेहरुको सूचिमा सर्बप्रथम नाउँ शुक्रराजकै थियो र उनलाई ‘सर्वस्व हरण गरी ज्यान सजायं दिने’ भनेर तोकिएको थियो । तर शुक्रराजलाई त्यसअघि नै त्यहाँबाट लागिसकेको थियो ।
उनलाई मृत्युदण्ड तोकेपछि कुनै किसिमको सुनवाई भएन । उनलाई राणाहरुले आफ्ना शर्त मानेमा रिहा गर्ने प्रस्ताब गरेका थिए, तर शुक्रराज शास्त्रीले राणाहरुले उनलाई गिरफ्तार गरेकोमा क्षमा नमागुन्जेल ती शर्तहरु वास्ता नगर्ने बताए ।
बिस १९९७ माघ १० गते रातको ठीक १२ बजे शुक्रराज शास्त्रीले पबित्र बागमती नदीमा स्नान गरे र गीताको पाठ गरे अनि खरीको बोटमा फाँसीको डोरी झुन्डिएको देखेर प्रसन्नतापूर्वक भने, ‘जुद्धशमशेर आज मेरो प्राण लिन बडो उत्सुक छ । तर म मर्दिनँ । मेरो आत्मा अमर हुने छ । यस आत्माले राणा सरकारको ध्वंश, विध्वंश बादलपारि आकाशमा गएर हेर्ने छ । यस नश्वर देह मातृभूमिको चरणमा अर्पण गर्नु मेरो ठुलो सौभाग्य हो । यति भनी उनले रूखको फाँसी आफ्नो गलामा लगाए र जीवनलीला समाप्त पारे ।
फाँसीपछि
माघ ११ गते बिहान उज्यालो हुनेबित्तिकै बागमतीमा नुहाउन आएका नेपाली जनताले पचलीको रूखमा झुन्डिरहेको शुक्रराज शास्त्रीको लास देखे । लासमा डम्बर कुमारीको लुगामाथि घरबाट आमाले तगेर पठाएको फलाटिनको खैरो भोटो थियो ।
नीलो–मसिनो किनारा भएको सेतो धोती बेरेको, जनैमा झुन्डिएको साँचो तल भोटोबाहिर देखिएको, टाउको मुडुलो, दाह्री लामा रहेको अबस्था रहेको थियो । उनको छातीमा ‘भर्खर शिक्षा पाएका नवयुवकलाई भड्काएर देशमा बिद्रोह फैलाउने र राजकाजमा समेत चलेको हुनाले यस्तो सजायं भयो भन्ने कागजको बोर्ड झुन्डिएको देखिन्थ्यो ।
शुक्रराज शास्त्रीलाई मृत्युदण्ड भएको खबर तीनै सहरमा आँधीबेहरीसरह फैलियो । उपत्यकामा टाढा–नजिकका ठाउँहरुबाट आएका मान्छेका ताँतीले टुँडिखेल, त्रिपुरेश्वर, पचली, कालीमाटीका बाटाहरु भरीभराउ भए : रूखनजिक अत्यन्तै घुइंचो भयो । जनताहरु कोही आफूआफूमा कुरा गरिरहेका थिए भने कोही सरकारको क्रुरतामा उसलाई गाली गरिरहेका थिए । कमलो मनका भएका पुरुष–महिलाहरु त्यहीं धरधरी रोइरहेका थिए ।
शुक्रराज शास्त्रीको घरमा यो खबर पुग्दा बिहानको ७ बजिसकेको थियो । उनका परिवारका सदस्यहरु पचली गएर शुक्रराज शास्त्रीको पार्थिव शरीरमा श्रद्धान्जली गरेर फर्कदा बिहानको नौ बजिसकेको थियो । त्यसको एकैछिनपछि ८५ बर्षका पिता माधवराज जोशी पनि पचली पुगे । सन्यासी बनिसकेको हुनाले उनले गेरुवा वस्त्र लगाएका थिए । लठ्ठीको सहारामा रूखमुनि उभिएर शहीदको बीरगति पाएका आफ्ना छोराको लासलाई उनले तीनचोटी घुमेर नमस्कार गरेर श्रदान्जली चढाए ।
रूखमा झुन्डिएको लास जनतालाई भयभीत बनाउन दिनभरी नै प्रदर्शन गरिराखियो । उक्त दृश्य नेपाल प्रजापरिषद्का र गिरफ्तार गरी थुनिएका अरु व्यक्तिहरुलाई पनि राणा सरकारले देखाएर आतंकित पार्ने प्रयास गरेको देखियो । समयमा काजक्रिया गर्न लास माग्दा नदिएपछि परिवारका सम्बन्धित मान्छेहरु ’जसले मार्यो , उसैले किरिया गरोस ’ भनि फर्किए ।
झमक्क साँझ परिसकेपछि हेर्न आउनेहरुको भीड पनि कम भयो । उनका भतिजा प्रयागराज र भानुराजहरुलाई पुलिसले घरपकड गरेर घिसार्दै पचली पुर्याए । प्रयागराजका अनुसार ‘एकजना सीपाहीले फाँसीको डोरी काट्न लगाउँदा नश्वर शरीर जमिनमा लडेको थियो, मरेर पनि शुक्रराजलाई सुख भएन , उनको लासलाई शान्ति मिलेन, लाससित पनि सरकारलाई रिस थियो ।’
अमरराजका छोरा प्रयागराज र भानुराजलाई गोपाल मास्केले पनि ठुलो श्रद्दा देखाएर नडराईकन लासको दाहसंस्कार गर्ने काममा सघाएका थिए । शुक्रराजको लासलाई टेकू दोभानको काजीघाट लगियो । उनको चिता बनाउन बागमती नदीको चिहान प्रयोग गर्न दिइएन । नदीमा बगिरहेको पानीमाथि उनको चिता बनाउनु पर्यो । पानीमाथि चिता बनाउन मात्रै बहत्तर रुपियाँको दाउरा लागेको थियो रे ।
१९९७ सालको काठमाण्डौको माघ महिनाको मध्यरातको समय बाघमतीको हावा,पुलिसको घेराभित्र पानीमाथिको चितामा लास जलाउन निकै कठिन पर्यो ।
शुक्रराज शास्त्रीलाई मात्र ज्यान सजायं दिएर,लासको दुर्दसा गरेर मात्र नपुगी उनलाई दागबत्ती दिनेले समेत दण्ड र सजायं भोग्नु पर्यो । बागमतीमा चिताको खरानी बगाएर झिसमिसे बिहानीमा घर पुगेका उनका भतिजाहरुलाई पुलिसले घर घेरेर ‘झुन्डिएर मरेकालाई दागबत्ती दिएको’ भनी आगो हाल्नेलाई पतिया लिन वडागुरूजुकहाँ हाजिर हुने निर्देशन दियो । जोगी भएका पुरोहितवादका बिरोधी शुक्रराजका पिता माधवराजलाई ल्याउन नमिले पनि राणाशाहीका अधिकारीहरुले पुलिसको घेराबीच भतिजा प्रयागराजलाई पतिया लिन वडागुरूजुकहाँ पुर्याए ।
यसरी शुक्रराजको लास जिउँदो मान्छेभन्दा जोशिलो,जाँगरिलो र क्रान्तिमा किटाणु जन्माउन, हुर्काउन बढाउन सक्ने थियो । नेपाली क्रान्तिको त्यो जिउँदो मूर्ति भएकाले होला श्री ३ महाराजको सरकारले मरेको लासलाई पनि देखिनसकेको र लासदेखि तर्सिएको देखिन्थ्यो ।
शुक्रराजलाई फाँसी दिइरहंदा सदरजेलमा रहेका खड्गमान सिंहले उनको बारेमा लेखेका छन्–०९७ सालको आन्दोलनमा प्रजा परिषद्का मेम्बरहरुलाई सजायं दिंदा शास्त्रीलाई पनि ज्यान सजायं दिइयो । माघ १० गते बिहिबार राती १२ बजे उहाँलाई फाँसी भयो । लोकवादको निमित्त प्राणदण्ड पाउने पहिलो नेपाली उहाँ नै हुनुहुन्थ्यो ।
शुक्रराजलाई जेलबाट फाँसीका लागि लैजाँदा ‘सबै भाइलाई नमस्ते, मर्नु सबैले पर्छ , तर यसरी मर्न पाउँदा मेरो नाम अमर भयो भन्दै निस्कनुभएको थियो ।
यसरी शुक्रराजको बलिदानले नेपाली जनतामा जागृति आयो र राणाशाही पतन भयो । त्यसको धेरै लामो समयसम्मको संघर्षको क्रममा धेरै नेपालीहरु शहीद बन्न तयार भए र २०६२-२०६३ पछि सामन्ती राजतन्त्रकै पनि उन्मूलन भयो ।






