पृथ्वीनारायण क्याम्पस अर्थात पिएन क्याम्पस पोखराकै जेठो र देशकै सबैभन्दा ठूलो क्याम्पस हो । यो क्याम्पस अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाउन सफल र भविष्यको विश्वविद्यालय पनि हो । यसै क्याम्पसका उत्पादन राजनीतिका साथै अन्य क्षेत्रको निकै उच्च ओहोदामा पुगिसकेका छन् ।
यहाँ अहिले पनि १५ हजारको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका, गरिवदेखि धनीसम्मका छोराछोरीको भविष्यको गारेटो कोरिदिने थलो हो, पृथ्वीनारायण क्याम्पस ।
यो क्याम्पसलाई राजनीतिको उद्गम थलोकारुपमा पनि लिइन्छ । यहाँबाट विद्यार्थी राजनीति गरेकाहरु नेपालको राजनीतिमा महत्वपूर्ण पदमा पुगिसकेका छन् । यस क्याम्पसले हजारौं प्रोफेसर जन्माइसकेको छ ।
शिक्षा क्षेत्रको यस्तो महत्वपूर्ण र १४ हजार भन्दा बढी विद्यार्थीको भविष्यसंग गाँसिएको छ पृथ्वीनारायण क्याम्पस । तर यस क्याम्पसमा यतिबेला पठनपाठन ठप्प छ । विद्यार्थी क्याम्पस आउँछन् पढ्न पाउँदैछन्, शिक्षक क्याम्पस आउँछन् पढाउँदैनन् । लुकामारी खेलजस्तो भइरहेको छ यस क्याम्पसमा ।
यसको एकमात्र कारण हो क्याम्पसमा १४ वर्षदेखि पढाइरहेका ज्यालादारी शिक्षकहरुको आन्दोलन । क्याम्पसमा दैनिक ज्यालादारीमा पढाउने शिक्षक २ सय १४ जना छन् । उनीहरु २ वटा माग लिएर आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरुले समान कामको समान ज्याला मासिकरुपमा पाउनुपर्ने र क्याम्पसका रिक्त दरवन्दीमा ज्यालादारी शिक्षकहरुबाटै नियुक्ति हुनुपर्ने माग गरेका छन् । उनीहरुले यी माग अब पूरा नभए सामूहिक राजीनामा दिने चेतावनी समेत दिएका छन् ।
क्याम्पसको पठनपाठन नै ठप्प भएपछि क्याम्पसमा नै पुगेर समस्या के हो भनेर हामीले बुझ्ने प्रयत्न गरेका छौं ।
हामी क्याम्पसमा पुग्दा विद्यार्थीहरु निराश हुँदै घर फर्किरहेका थिए । आन्दोलनरत शिक्षकहरु घाम तापेर बसिरहेका थिए ।
आफ्नो कार्यकक्षमा ताला लागेका कारण सहायक तथा निमित्त क्याम्पस प्रमुख उपेन्द्र पौडेल अन्यत्रै कोठामा बसेर काम गरिरहेका थिए ।
आन्दोलनको नेतृत्व गरिरहेका आशिंक प्राध्यापक संघ, पृथ्वीनारायण क्याम्पसका अध्यक्ष सुनिल गौतमले आफूहरुले यी २ माग राख्दै आएको १४ वर्ष पुग्दा समेत वेवास्ता गरेपछि आफूहरु बाध्य भएर कडा आन्दोलन गर्नुपरेको बताए ।
उनले सामान्य तल्लोस्तरको श्रमको मूल्य पनि नदिइ प्राध्यापन पेशामा लगाएको आरोप लगाउँदै अब माग पूरा नभएसम्म आन्दोलन नरोकिने र आवश्यक परे सामूहिक राजीनामा दिने चेतावनी दिए ।
उनले विद्यार्थीको भविष्यप्रति चिन्ता आफूहरुलाई निकै चिन्ता लागेको तर आफूहरु आन्दोलन गर्न बाध्य भएको बताए ।
यता, क्याम्पस सहायक तथा निमित्त क्याम्पस प्रमुख उपेन्द्र पौडेलले शिक्षकहरुको माग जायज भए पनि आन्दोलन ठीक नभएको बताए ।
उनले आन्दोलनले हजारौं विद्यार्थीको भविष्यमाथि खेलवाड नहुने भन्दै यो समस्या समाधानमा पहल भइरहेको बताए । साथै उनले यही समस्या दिएर क्याम्पस प्रमुख प्राध्यापक डाक्टर चन्द्रबहादुर थापा त्रिविविको केन्द्रीय कार्यालयमा जानुभएको जानकारी दिए । निमित्ति क्याम्पस प्रमुख पौडेलले यो समस्या समाधान छिट्टै हुने विश्वाससमेत व्यक्त गरे ।
यता, विद्यार्थीहरुले शिक्षकहरुको माग निकै जायज भए पनि पढाइ रोक्नु गम्भीर गल्ती भएको बताए । उनीहरुले कि त शिक्षकले पढाउनु पर्यो, कि त क्याम्पसले अर्को विकल्प दिनुपर्ने भन्दै आन्दोलनको चेतावनी दिएका छन् ।
नेविसंघ पिएन क्याम्पसका सभापति दीपक शर्मा वाग्लेले शिक्षकको माग जायज भए पनि आन्दोलनको नाममा पढाइ नै रोक्नु नाजायज भएको बताए । उनले कसैको अधिकारको माग राख्दै गर्दा हजारौं विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न नहुने बताए ।
वाग्लेले भने, ‘क्याम्पसले समस्या मिलाउन सक्छ भने मिलाउनुपर्यो, अर्को विकल्प दिन सक्छ दिनुपर्यो । विद्यार्थीले जसरी पनि पढ्न पाउनुपर्छ । होइन भने क्याम्पसले २१४ जना शिक्षकलाई नै वर्खास्त गर्नुपर्छ । त्यो पनि नभए असक्षम भएँ भन्दै क्याम्पस प्रमुखले राजीनामा दिनुपर्छ ।’
‘विद्यार्थीहरूको माग जसरी पनि पढ्न पाउनुपर्छ भन्ने हो । हामी क्याम्पस र शिक्षक दुवैको पक्ष र विपक्षमा छैनौं’, उनले भने ।
अनेरास्ववियु पिएन क्याम्पस इकाइ कमिटीका कार्यवाहक अध्यक्ष सन्तोष न्यौपानलेले प्राध्यापकहरूको समस्या जटिल हो तर आन्दोलनका नाममा विद्यार्थीको पठनपाठनमा कुनै अवरोध गर्न नहुने बताए ।
उनले बुधबारसम्म आफूहरुले पढ्न नपाए सबै विद्यार्थी संगठनलाई साथमा लिएर आन्दोलन गर्ने चेतावनी दिए ।
शिक्षकहरुका माग निकै जायज छन् । यो सबैले महसूस गरेकै कुरा हो । तर आफ्नो माग राख्दै गर्दा १५ हजार विद्यार्थीको भविष्यतर्फ पनि शिक्षकहरुले ध्यान दिनुपथ्र्यो, त्यो त्यस्तो हुन सकेन ।
१४ वर्षसम्म शिक्षकहरुको अधिकारलाई कुल्चँदै मागलाई वेवास्ता गर्नु त्रिभुवन विश्वविद्यालयका जिम्मेवार व्यक्तिको लाचारीपन हो ।
क्याम्पसजस्तो संवेदनशील र हजारौं विद्यार्थीको भविष्यसंग जोडिएको ठाउँमा आन्दोलन जायज पक्कै हुँदैन र सुहाउँदैन पनि ।
नहुनुपर्ने आन्दोलन शुरु भइसक्यो । शिक्षकहरुको जायज मागलाई सधैंभरि दवाएर राख्नु पनि हुँदैन । यसतर्फ विशेषगरि त्रिविविका जिम्मेवार व्यक्तिको ध्यान बेलैमा जान आवश्यक छ ।
शिक्षकको मागलाई संवोधन गर्न र पठनपाठन सुचारु गर्न त्रिविवि, क्याम्पस प्रशासनका साथै आन्दोलनरत शिक्षकहरु, राजनीतिक दलहरु र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले समन्वकारी भूमिका खेल्न जरुरी छ ।
भिडियोमा पनि हेरौं






