नेविसंघ राजीव ढुंगानाको कमाण्डमा

नेपाली कांग्रेसका नेताहरूबीच नेपाल विद्यार्थी संघ (नेविसंघ) को नेतृत्व राजीव ढुंगानाले गर्ने भएका छन् । पार्टीका सभापति शेरबहादुर देउवासहितका नेताहरूबी राजीव ढुंगानालाई संघको सभापति बनाउने सहमति भएको हो ।

शुक्रबार भएको सहमति अनुसार नेविसंघ केन्द्रीय समिति १ सय २७ जनाको हुनेछ । सदस्यहरूको टुंगो भने आआफ्नो समूहमा छलफल गरि सोमबार बस्ने कांग्रेस केन्दीय कार्यसमितिको बैठकबाट अनुमोदन गर्ने तयारी छ ।

समितिमा अध्यक्षसहित २ उपाध्यक्ष, ३ महामन्त्री, २ सहमहामन्त्री र कोषाध्यक्षसहित ४९ जना कांग्रेस सभापति शेरबहादुर देउवा निकट रहनेछन् । यसैगरी २ उपाध्यक्ष, २ महामन्त्री र २ सहमहामन्त्री वरिष्ठ नेता रामचन्द्र पौडेल निकट रहने छन् ।

सहमतिअनुसार २ उपाध्यक्ष, २ महामन्त्री र २ सहमहामन्त्री अर्का नेता कृष्ण प्रसाद सिटौला निकट रहने सहमति भएको छ । यस्तै एक महामन्त्री कांग्रेस उपसभापति विजयकुमार गज्छदारलाई दिइने भएको छ ।

नेविसंघको यो भागवण्डा विगतको माधिवेशनबाट निर्वाचितको आधार बनाएर गरिएको बताइएको छ । नेविसंघको नेतृत्व ३२ बर्ष मुनिको हुने भनिएता पनि महाधिवेशन गराउनका लागि बनाइएको नेविसंघ समिति भएको कारण ३२ बर्षको हद लगाएको छैन ।

नेविसंघको विधानमा ३२ को उमेर हद रहेको छ । निर्वाचन गराउन गठन गरिएको समिति भएको कारण हद लागु नगराइएको बताइएको छ । यो समितिमा बस्ने पदाधिकारी तथा सदस्यले आउँदो नेवसंघको महाधिवेशनामा भाग लिन नपाउनेमा नेताबीच सहमति भएको छ ।