राष्ट्रियसभा सदस्यको रिक्त १८ पदका लागि भइरहेको निर्वाचन अन्तर्गत मुलुकका सातै प्रदेशमा अहिले मतदान जारी छ ।
दिउँसो एक बजेसम्म ८० प्रतिशतभन्दा बढी मतदान भइसकेको सम्बन्धित मतदान अधिकृतले जानकारी दिएका छन् ।
मतदानका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म समय तोकिएको छ । सातै प्रदेशको उच्च अदालत रहेका जिल्ला सदरमुकाम क्रमशः मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा निर्वाचन हुँदैछ ।
निर्वाचनमा ५५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष÷उपाध्यक्ष, प्रमुख÷उपप्रमुख एक हजार ५०६ गरी कूल दुई हजार ५६ मतदाता रहेका छन् । निर्वाचनमा ६ राजनीतिक दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।
निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ तय गरिएको छ। यसको अर्थ प्रदेश सांसदले दिएको १ मतलाई ४८ र स्थानीय तह प्रमुख वा उपप्रमुखले दिएको मतलाई १८ मानी मत गणना गरिनेछ। एकजना प्रदेश सांसद र स्थानीय तह प्रमुख तथा उपप्रमुख प्रतिनिधित्व गर्ने औसत जनसंख्याका आधारमा यो मतभार तय गरिएको हो।
मतदान सकिनासाथ राजनीतिक दलको सहमतिमा मतगणना कार्य प्रारम्भ हुने छ । आजै राति सातै प्रदेशबाट निर्वाचनको नतिजा प्राप्त हुनेछ ।






