भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि नेपाल आउने भएका छन् । गोरखा भूकम्पमा नेपालीले भोग्नुपरेको दर्द र त्रासदीमा पहिलो उद्धारकका रुपमा भारतले सघाएको उल्लेख गर्दै उनले हाल निर्माणाधीन भवन बलियो हुने अपेक्षा गरे । उलने भने, “यस वर्ष म नेपाल आउने कार्यक्रम मिलाउँछु । अवश्य पनि नेपाल र नेपालीको दर्शन गर्नेछु ।”
रक्सौल र जोगबनीमा यसअघि नै यस्तो जाँचचौकी सञ्चालन भएको र गत वर्ष वीरगञ्जमा जाँचचौकीको सञ्चालन गरिएको स्मरण गर्दै उनले आगामी दिन पनि अन्य कुनै स्थलमा एकीकृत जाँचचौकीको निमार्ण गरिने प्रतिवद्धता गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीचका थाती रहेका द्विपक्षीय विषय कूटनीतिक संवादबाट टुङ्गो लगाउने समय आएको बताए ।
विराटनगरस्थित एकीकृत भन्सारचौकी मंगलबार भारतीय समकक्षी नरेन्द्र मोदीसँगै भिडियो कन्फरेन्समार्फत उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आपसी सम्बन्ध नयाँ उचाइमा पुगेकाले यसका आधारमा आपसी सहमति र साझेदारीका विषयलाई ‘एक्सन’मा उतार्ने समय आएको स्पष्ट गरेका हुन् ।
सोका लागि सम्बन्धित मन्त्री र मन्त्रालयले कार्यसूची तय गर्ने जनाउँदै प्रधानमन्त्री ओलीले नेपाल र भारत इतिहास, भूगोल र संस्कृतिका हिसाबले नजीकका छिमेकी भएका नाताले आपसी सहकार्यलाई वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सोच झैँ भारतीय प्रधानमन्त्री मोदीको ‘सबका साथ, सबका विश्वास’ को नारा रहेको उल्लेख गर्दै विगतमा आफू भारत भ्रमणमा जाँदा वीरगञ्जस्थित एकीकृत जाँचचौकी तथा पाँच महिनाअघि मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको संयुक्त उद्घाटन गरिएको स्मरण गरे ।






