माघ ७ गते २०७६

ताजा समाचार

माघ ७ गते २०७६

कास्कीमा दुर्घटना : २७ को मृत्यु, ५० गम्भीर घाइते (पछिल्लो ६ महिनाको तथ्यांक)

- ट्राफिक कक्षा सञ्चालन गर्ने तयारी

सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक कार्यालयले ट्राफिक कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको पछिल्लो ६ महिनाको तथ्यांकमा सवारी दुर्घटनामा ज्यान गुमाउने संख्या गत वर्षको भन्दा दोब्बर बढी देखिएको छ ।

आर्थिक वर्ष २०७६/०७७ को पछिल्लो ६ महिनामा ६५ सवारी दुर्घटनाबाट २७ ले ज्यान गुमाइसकेका छन् । ५० जना गम्भीर र २७ सामान्य घाइते भएका छन् । आव २०७५/७६ को साउनदेखि पुससम्मको तथ्यांकमा ४२ सवारी दुर्घटनामा ११ ले ज्यान गुमाएका थिए भने ३५ गम्भीर र १२ साधारण घाइते भएको तथ्यांक छ ।

राजश्व संकलनमा भने आव २०७५/७६ को भन्दा २०७६ ÷७७ मा वृद्धि भएको छ । गत आर्थिक वर्षको छ महिनामा २८ हजार ६५० सवारीसाधन कारवाहीबाट रु १ करोड ९४ लाख ६ हजार राजश्व संकलन गरिएको थियो भने मापसेको कारवाहीमा ५३० परेका थिए भने रु ५ लाख ३० हजार राजश्व संकलन भएको थियो ।

चालु आर्थिक वर्षको ६ महिनामा भने कारवाही संख्या बढेर ३२ हजार ६ सय पुगेको छ । रु २ करोड ५० लाख ९९ हजार राजश्व सङ्कलन भएको छ भने मादकपदार्थ सेवन कारवाहीमा १ हजार २ सय ९८ परेका छन् । मापसे कारवाहीबाट रु १२ लाख ९८ हजार राजश्व संकलन गरिएको छ ।

जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख सन्तोष रोकाले बढ्दो सवारी दुर्घटना रोक्न ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी भएको जानकारी दिए ।

उनले भने, ‘हामी दुर्घटना न्यूनीकरणको अभ्यास गरिरहेका छौँ तर सवारी चलाउने चालक नै गम्भीर भएको पाइँदैन । विशेष कक्षामार्फत सचेतना जगाउने तयारी गरिरहेका छौं ।’

उनले सवारी दुर्घटना मान्छे जीवनसँग प्रत्यक्ष जोडिने भएकाले यस विषयमा सवारी चालकलाई सचेत गराउन प्रत्येक हप्ता २ वटा कक्षा सञ्चालन गरेर ५० लाई सचेतना तालीम दिने कार्यक्रम ल्याउन लागेको बताए ।

उनले भने, ‘बढ्दो सवारी दुर्घटनाप्रति हामी निकै चिन्तित छौं । अब संस्थागत रुपबाटै विभिन्न संघसंस्थासँग समन्वय गरेर हप्तामा २र्् कक्षा २५ जनाको दरले ५० जनालाई सचेतना कार्यक्रम गर्नेछौं ।’ उनले ट्राफिक कार्यालयको नवनिर्मित भवन सम्पन्नपश्चात यस कार्यक्रमलाई लागू गर्ने बताए ।

सार्वजनिक र प्राइभेट चालक, सवारी धनी, बोर्डिङ स्कूलका बस चालक सबैलाई सचेतना तालीम कक्षामा सहभागि गराइने उनको भनाइ छ ।

लामो समयदेखि माइक्रोबस चलाउँदै आका चालक धनबहादुर थापाले साँघुरो बाटो, यात्रुले जहाँ पायो त्यहीबाट बाटो काट्ने, ओभरटेक गर्ने, मापसे गरेर सवारीसाधन चलाउँदा दुर्घटना हुने गरेको बताए ।

ट्राफिक व्यवस्थापनमा स्वयंसेवा सेवा गर्दै आउनु पत्रकार शिवराज बस्ताकोटीले सवारीसाधन चालकले ट्राफिक नियमको पालना गरेर सवारी चलाए धेरै मात्रामा दुर्घटना कम हुने बताउछन् ।

यात्रा गर्दा हतारिएर गर्ने जहाँ पायो त्यहीँबाट ओभरटेक गर्न चालकको बानीले दुर्घटना हुन्छ । उनले हतारको मनस्थितिमा अधिकांश चालक भेटिन्छन् ।

ट्राफिक नियमको बारेमा सम्झाउँदा बुझाउँदा झर्केने, सबै जानेका छौं भन्ने तर व्यवहारमा लागु नगर्ने चालकको बानीले दुर्घटना हुने गरेको उनको भनाइ छ ।-फाइल तस्वीर