राजपा उम्मेदवार विरुद्ध उजुरी

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश २ मा राष्ट्रिय जनता पार्टी नेपाल राजपाको तर्फबाट उम्मेदवार बनेका शेखर सिंहको उम्मेदवारी खारेजी गर्न माग गर्दै उजुरी परेको छ।

राष्ट्रियसभा निर्वाचन कार्यालय प्रदेश २ का अधिकृत राजुकुमार खतिवडाले उजुरी दर्ता भएको जानकारी दिए । उजुरी निर्वाचन आयोगमा पठाइने र त्यहाँबाट निर्णण हुने जनाइएको छ ।

सत्तारुढ नेकपासँग तालमेल गरेको राजपाको तर्फबाट सप्तरी घर भएका सिंहले अल्पसंख्यक समूहबाट उम्मेदबारी दिएका हुन्। नेपाली कांग्रेसका उम्मेदवार भोला पंजियारले उनीविरुद्ध राष्ट्रियसभा निर्वाचन कार्यालय प्रदेश २ जनकपुरधाममा उजुरी दर्ता गराएका हुन् ।

राजपा उम्मेदवार सिंहले कुटपिट तथा अंगभंग मुद्दामा २ वर्ष कैद र जरिवाना फर्छ्यौट नगरेको उजुरीमा उल्लेख छ। २०४४ असार ३० मा सप्तरी जिल्ला अदालतले कुटपिट तथा अंगभंग मुद्दामा सिंहबिरुद्व कैद र जरिवानाको फैसला गरेको पंजियारको उजुरीमा उल्लेख छ।

उजुरीको आधारमा सिंहको उम्मेदवारी खारेज भए समाजवादी पार्टी र कांग्रेसका साझा उम्मेदवार पंजियार स्वतः निर्वाचित हुन्छन् ।