ओलीलाई प्रचण्डको जवाफ : ‘शिवमाया पूर्वएमालेकै कोटाबाट मन्त्री बन्नुपर्छ’

उपसभामुख शिवमायाँ तुम्बाहाङफेलाई पदबाट राजीनामा गराएसँगै मन्त्री बनाउने प्रस्ताव प्रधनमन्त्री केपी शर्मा ओलीले गरेका छन्। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलमा अध्यक्ष ओलीले प्रचण्डसँग भने अनुसार सभामुख बनाउन आफू तयार भएकाले तुम्बाहाङफेलाई मन्त्री बनाउन प्रधानमन्त्रीले प्रस्ताव गरेका हुन्।

त्यसरी मन्त्री बनाउँदा पूर्व माओवादीकै कोटाबाट मन्त्री बनाउन प्रधानमन्त्रीले प्रचण्ड समक्ष प्रस्ताव गरेको श्रोतले बतायो। तर, अध्यक्ष प्रचण्डले सभामुख पद विगतमा माओवादीकै कोटामा रहेकाले अहिले पुरानै सहमति मात्रै कार्यान्वयन भएकाले आफ्नो कोटाको मन्त्री पद तुम्बाहाङफेलाई दिन नसक्ने प्रतिक्रिया दिएका छन्।

सकेसम्म अब हुने मन्त्रिपरिषद् पुनर्गठनमा त्यो सम्भव नभए अरु कुनै उचित जिम्मेवारी दिने आश्वासन प्रधानमन्त्रीले उपसभामुख तुम्बाहाम्फेलाई दिएका छन्। प्रधानमन्त्रीको सो आश्वासन पछि उपसभामुख तुम्बाहाङफे पदबाट राजीनामा दिन राजी भएकी हुन्।

उपसभामुखलाई सम्झाउने जिम्मा प्रधानमन्त्री ओलीले पूर्वसभामुख तथा नाताले छोरा पर्ने सुवासचन्द्र नेम्वाङलाई दिएका थिए। उपसभामुखले आजै पदबाट संसदको जेष्ठ सदस्य महन्थ ठाकुरलाई राजीनामा दिने र पत्रकार सम्मेलन गरेर आफ्नो कुरा सार्वजनिक गर्ने तयारी गरेको उनको सचिवालयले जानकारी दियो।

उपसभामूख पनि रिक्त हुने अवस्थामा उपसभामूखको जिम्मेवारीमा को जाने भन्ने कुरा टुंगो लागेको छैन। एउटै पार्टीबाट सभामूख र उपसभामूख नहुने संवैधानिक व्यवस्थाका कारण सत्तारुढ साना दलले उपसभामूखमा दावी गरिरहेका छन्।