६ ऐन र २ कार्यविधि बनाउँदै पोखरा महानगर

देशकै ठूलो महानगर पोखराको छैटौं नगरसभा सोमबारबाट सुरु हुँदै छ । यो नगरसभामा ६ ऐन, २ वटा कार्यविधि, १ नियमावली र २ ऐन संशोधनको प्रस्ताव लगिँदै छ ।

महानगरको शनिबार भएको कार्यपालिका बैठकले यो निर्णय गरेको हो । पोखरा प्रज्ञा प्रतिष्ठान, वन सम्पदा संरक्षण, पशु स्वास्थ्य तथा पशु सेवा, स्थानीय वातावरण प्राकृति स्रोतको संरक्षण, यातायात व्यवस्था र कर्मचारी सेवा ऐन सभामा पेस हुने महानगर प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए ।
विधायन समितिले बनाएका ऐनका मस्यौदा कार्यपालिका बैठकले स्वीकृत गरेको छ । महानगपालिकाको न्यायिक समिति (कार्यविधिसम्बन्धी) ऐन २०७४ र नगर प्रहरी व्यवस्थापन ऐन २०७५ को पहिलो संशोधन प्रस्ताव पनि सभामा पेश हुनेछ ।

बुधबारसम्म चल्ने नगरसभाले छलफलपछि नयाँ ऐन र संशोधन प्रस्ताव पारित गर्ने छ ।