माघ ५ गते २०७६

ताजा समाचार

माघ ५ गते २०७६

शिवमायाको राजीनामापछि को बन्ला उपसभामूख ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामूखको टुंगो लगाएसँगै उपसभामूख को ? बन्छ भन्ने विषयमा चर्चा शुरु भएको छ। यसअघि नेकपाले सभामूखको टुङ्गो लगाउन नसक्दा संसद बैठक स्थगित हुँदै आएको थियो।

गत शनिबार बसेको नेकपा सचिवालय बैठकले उपसभामूख शिवमाया तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन निर्देशन दिइएको थियो। तर, उपसभामूख तुम्बाहाङ्फेले सभामूखको उम्मेदवार चयन नहुँदासम्म राजीनामा नदिने अडान लिएकी थिइन्।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अग्निप्रसाद सापकोटालाई सभामूखको उम्मेदवार बनाउन सहमत भएपछि हाल उपसभामूख रहेकी डा. शिवमाया तुम्हाङफेले सोमबार राजीनामा गर्ने भएकी छन्। उनले सोमबार बस्ने प्रतिनिधि सभाको बैठकअघि संसदको जेष्ठ सदस्यलाई राजीनामा बुझाउने तयारी गरेकी हुन्।

उनले यसअघि पार्टीले सभामुखको टुङ्गो लगाएपछि आफू राजीनामा दिन तयार रहेको बताउँदै आएकी थिइन्। संविधानमा फरक पार्टी र फरक लिङ्गको व्यक्ति सभामूख र उपसभामूख हुनुपर्ने प्रावधान छ। तत्कालीन माओवादी केन्द्रतर्फबाट कृष्णबहादुर महरा सभामूख बनेका थिए भने तत्कालीन एमालेबाट उपसभामूख डा. शिवमाया तुम्हाङफे बनेकी थिइन्।

यौन दुर्व्यवहारको आरोप लागेपछि तत्कालीन सभामूख महराले असोज १४ मा राजीनामा दिएपछि सो पद रिक्त अवस्थामा थियो। अहिले तत्कालीन माओवादी र एमालेबीचको एकतापछि नेपाल कम्युनिष्ट पार्टी नेकपा बनेको छ। यस्तो अवस्थामा सभामूखमा नेकपाले दावी गरेपछि उपसभामूखबाट तुम्हाङफे राजीनामा दिनुपर्छ।

नेकपाले सभामूखमा उम्मेदवारी दिने निश्चित भएसँगै सोमबार बस्ने प्रतिनिधि सभा बैठकमा सभामूख र उपसभामूखको निर्वाचन प्रक्रिया अघि बढ्ने बताइएको छ। उपसभामूखमा नेकपाले जुन पार्टीको उम्मेदवारलाई समर्थन गर्छ उसैको हुने पक्कापक्की जस्तै छ। प्रतिनिधि सभामा नेकपाको स्पस्ट बहुमत छ।

तर नेकपाले उपसभामूखमा कसलाई सघाउने भन्ने खुलाइसकेको छैन। नेकपा उच्च स्रोतका अनुसार प्रदेश २ को राष्ट्रिय सभा निर्वाचनमा राजपा नेपालसँग सहकार्य गरेकाले उपसभामूखमा पनि नेकपाले राजपाका उम्मेदवारलाई सघाउने लगभग पक्का जस्तै छ। तर यसबारे नेकपाले आधिकारिक निर्णय भने गरिसको छैन।

यसअघि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच उपसभामुख अन्य पार्टीलाई प्रस्ताव गर्ने सहमति भएको थियो।