यतीले भन्दा ५० करोड बढी दिन्छु, गोकर्णको जग्गा मलाई दिनुस् !

नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले गोकर्ण रिसोर्टको जग्गा यती होल्डिङ्स प्रालिले दिए भन्दा ५० करोड बढी आफुले तिर्ने भन्दै भाडामा आफुलाई दिन सरकारसमक्ष प्रस्ताव गरेका छन् ।

राष्ट्रियसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै रायमाझीले अहिले भाडामा लिएको कम्पनीले भन्दा आफूले ५० करोड रुपैयाँ बढी दिने बताएका हुन् ।

उनले भने “सरकारका मन्त्री ज्युहरु उपस्थित हुनुहुन्छ। सम्माननीय अध्यक्ष ज्यू र माननीय ज्यूहरुसबैलाई साक्षी राखेर म भन्न चाहन्छु। त्यो रिपोर्स जुन हैसियत र बाटोमा दियो, जसरी दियो सरकारलाई मेरो प्रस्ताव छ आज। म सरकारलाई प्रस्ताव राख्न चाहन्छु जति पैसामा दिएको छ त्यो भन्दा ५० करोड बढी म तिर्न तयार छु। सरकार दिन तयार छ मलाई ? छैन। किन दिदैन भने त्यहाँ ५० करोड भन्दा बढीको अनियमितता भएको छ। ”

उनले नेपाल ट्रष्टको जग्गा गोकर्ण रिसोर्टलाई भाडामा दिने काममा ५० करोड बढी आर्थिक अनियमितता भएको दाबी गरेका छन्।

उनले प्रधानमन्त्री केही गिरोहको घेराभित्र मात्रै रमाउने गरेको र उनीहरुकै रिपोर्टिङका आधारमा मुलुकको विश्लेषण गर्ने गरिएको भन्दै गम्भीर आपत्ती जनाए।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट गर्नुपर्ने कामहरु पनि बालुवाटारबाट गर्ने गरेको भन्दै सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीका बाल्यकालमा लगाएका बस्त्रहरु राख्ने हो ?’भनी प्रश्न समेत गरेका छन् ।