माघ ३ गते २०७६

ताजा समाचार

माघ ३ गते २०७६

विश्वकै होचा खगेन्द्र थापा मगर रहेनन्

कुनै समय विश्वकै होचा व्यक्तिकोरुपमा ख्याति कमाएका खगेन्द्र थापा मगरको शुक्रबार निधन भएको छ । उनी लामो समयदेखि छाती तथा मुटुरोगबाट ग्रसित थिए ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बिहीबार पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा उनको शुक्रबार दिउसो ३ बजे निधन भएको हो । अस्पताल स्रोतका अनुसार खगेन्द्र निमोनियाले ग्रस्त भइसकेका थिए ।

उनको स्वासप्रश्वासमा समस्या, हेमोग्लोविनको कमि र सेतो रगत बढि देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनी हाल २८ वर्षका मात्र थिए ।

सन् २०१० मा गिनिज बुक अफ द वल्र्ड रेकर्डमा विश्वकै होचा व्यक्तिको रुपमा नाम लेखाउन सफल खगेन्द्र वाग्लुङ धुल्लु बासकोट–६ निवासी हुन् ।

उनले होचो मान्छे हुने शीर्षकको अवार्ड श्रेय एडवार्ड निनो हर्नान्डिजबाट प्राप्त गरेका थिए । गिनिज बुकमा नाम लेखिँदा उनको उचाई ५७ सेन्टिमिटर अर्थात् २२ दशमलव ४ इन्च मात्र थियो ।

खगेन्द्र गाउँलेहरू माझ ‘सानो बुद्ध’ भनेर चिनिन्थे । मे २००८ मा खगेन्द्र ब्रिटिश च्यानेल ४ को मार्क डोलनद्वारा होस्ट गरिएको डकुमेन्ट्री द वल्र्डस स्मलेस्ट म्यान एन्ड मीमा देखिएका थिए ।

खगेन्द्र २०६१ सालमा पोखरा आएका थिए । त्यसपश्चात् उनी बुबा रुपबहादुर थापा मगर, आमा धनमाया थापा मगर र भाई महेश थापा मगरको साथ पोखरामा बस्दै आएका थिए ।

थापाले आफ्नो १८ औं जन्मोत्सवको अवसरमा नेपाल र नेपालीलाई चिनाउँदै सन् २०१० अक्टोवर १४ तारीख अर्थात २०६७ साल असोज २८ गते विश्वकै होचा व्यक्तिको रुपमा नाम लेखाउन सफल भएका थिए ।

उनको जन्म सन् १९९२ मा थियो । जन्मिँदा उनी ६ सय ग्राममा थिए भने उनको अहिलेको तौल साढे ५ किलो थियो ।

भिडियोमा पनि हेरौं