सार्वजनिक हितलाई केन्द्रमा राखेर पिपिपी मोडेलमा विकास

- पिपिपी आयोजनाबारे सांसदसँग छलफल


पोखरा महानगरपालिकाले सार्वजनिक निजी साझेदारी (पिपिपी) का लागि छनोट भएका आयोजनाको बारेमा कास्कीबाट संघीय र गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गरेको छ ।

सेतीखोंच साहसिक पर्यटन पूर्वाधार विकास आयोजना, पातले छाँगो सिसा पुल तथा अन्य पूर्वाधार विकास आयोजना र सराङकोट पर्यटन पूर्वाधार विकास आयोजनाका बारेमा मंगलबार छलफल भएको हो । पोखरा महानगरका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा सांसदहरुले महानगरले ल्याएका योजनाहरु कार्यान्वयन तहमा लैजानुपर्ने बताउँदै पिपिपी मोडेलमा योजना बनाउँदा सार्वजनिक हितलाई केन्द्रमा राख्न सुझाव दिए ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले महानगरले सार्वजनिक हितलाई ख्याल गरेर नै पिपिपी आयोजनालाई अगाडि बढाउनुपर्ने बताए । ‘महानगरले ल्याएका आयोजनाले पोखराको सुन्दरतालाई अझ प्रवद्र्धन गर्दछ,’ उनले भने,‘ आयोजनालाई कार्यान्वयनमा लैजाँदा सार्वजनिक रुपमा छलफल हुन आवश्यक छ, महानगरले सरोकारवालासँग छलफल गरेर काम अगाडि बढाउँदा राम्रो हुन्छ ।’

कास्की क्षेत्र नम्बर ३ का सांसदसमेत रहेका विकले हरेक सम्भावनाको खोजी गर्दै पोखरामा थप पर्यटकीय गतिविधि बढाउने योजनालाई प्राथमकिता दिनुपर्ने बताए । कास्की क्षेत्र नम्बर १ का सांसद तथा पूर्व मन्त्री खगराज अधिकारीले सेती खोंचमा साहसिक पर्यटकीय पूर्वाधार निर्माण गर्दा शवदहस्थल र रामघाटबाट नदीजन्य पदार्थ उत्खनन्लाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

गण्डकी प्रदेश सांसद तथा विकास समिति सभापति दीपक कोइरालाले थोरै लगानी गरेर राम्रो आम्दानी गर्न सकिने धेरै ठाउँ भएकाले त्यसप्रति महानगरले ध्यान दिनुपर्ने बताए । उनले लेखनाथका ताललाई समेटेर योजना बनाउँदा थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने औंल्याए ।

प्रदेश सांसद मनबहादुर गुरुङले रामघाटलाई तालको रुपमा विकास गर्न त्यसबारे अध्ययन गर्नुपर्ने सुझाव दिए । योजना ल्याएपछि त्यसलाई कार्यान्वयन हुने गरी ल्याउनुपर्ने उनको भनाइ छ ।

प्रदेश सांसद विन्दुकुमार थापाले महानगरले ल्याएको योजनाले पोखराको पर्यटनमा थप टेवा पुग्ने बताए । उनले सेती नदीमा पर्यटकीय पूर्वाधार निर्माण गर्दा नदीलाई प्रदूषित हुनबाट जोगाउनुपर्ने बताए । प्रदेश सांसद रामजी बराल जीवनले आन्तरिक पुँजीलाई सहि रुपमा परिचालन र व्यवस्थापन गर्नुपर्ने सुझाए ।

प्रदेश सांसद राजीव पहारीले मापदण्ड लागू गराउन र सार्वजनिक सम्पत्तिको संरक्षणमा कठोर भएर काम गर्नुपर्ने बताए । उनले अबको विकासको मोडेल नै पिपिपी भएकाले महानगरले ल्याएको आयोजनालाई सम्पन्न गर्न संघ र प्रदेशले पनि सक्दो सहयोग गर्नुपर्ने बताए । प्रदेश सांसद मित्रकुमारी गुरुङ सुवेदी र पुष्पा केसी भण्डारीले पनि महानगरले अगाडि सारेका योजनालाई सफल बनाउन ३ तहका सरकाबीच समन्वय आवश्यक पर्नेमा जोड दिए ।

महानगर प्रमुख मानबहादुर जिसीले सार्वजनिक हितलाई ध्यानमा राखेर नै ३ आयोजनालाई पिपिपी मोडेलमा अगाडि बढाएको बताए । उनले योजना सम्पन्न गर्न संघ र प्रदेशको पनि साथ र सहयोग आवश्यक पर्ने बताए । पूर्वाधार र विकासको काम गर्दा सम्बन्धित क्षेत्रका संघीय सांसदको नेतृत्वमा प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिसहितको टिम बनाएर काम गर्दा विकासले गति लिने र योजना डुब्लिकेसन पनि नहुने गरी टिम बनाउन जिसीले प्रस्ताव गरेका थिए ।

सार्वजनिक निजी साझेदारी कार्यक्रमका सहजकर्ता अनन्तप्रसाद कोइरालाले ३ वटा आयोजनाका बारेमा प्रस्तुति राखेका थिए । कार्यक्रम सञ्चलन महानगरका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले गरेका थिए ।

सेती खोंच विकास आयोजनाको प्रस्तावित लगानी १ अर्ब ५८ करोड, पातलो छाँगो सिसा पुल तथा अन्य पूर्वाधार विकास आयोजनामा ४९ करोड १९ लाख, सराङकोट पर्यटन पूर्वाधार विकास आयोजनाको प्रस्तावित लगानी १४ करोड ७४ लाख रहेको सहजकर्ता कोइरालाले जानकारी दिए ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं