सभापति देउवाले गरे पौडेल र सिटौलासँग छलफल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग छलफल गरेका छन्। 

पुस ११ को केन्द्रीय समितिले १४ औं महाधिवेशनको कार्यतालिका आफूहरुसँग परामर्श नै नगरी ल्याएको भन्दै पौडेल र सिटौला देउवासँग रुष्ट थिए। 

उनीहरुले तीन दिनसम्म पार्टी कार्यालयमा जिल्ला सभापति भेला पनि गरेर उक्त निर्णय सच्याउन सभापति देउवालाई दवाव दिएका थिए।

केन्द्रीय सदस्य रमेश लेखकका अनुसार सभापति निवास बुढानिलकण्ठमा आइतबार साँझ सभापति देउवा, पौडेल र सिटौलाबीच पार्टीभित्र देखिएको विवाद हल गरेर जाने विषयमा छलफल भएको हो।

‘सभापतिले वरिष्ठ नेता र पूर्वमहामन्त्रीलाई निवासमै बोलाएर छलफल गर्नुभयो,’ लेखकले सेतोपाटीसँग भने, ‘निकै सौहार्दपूर्ण छलफल भयो। सहमतिबाटै अघि बढ्ने कुरा भएको छ।’

वरिष्ठ नेता पौडेल सोमबार भारत भ्रमण जाँदैछ्न्। उनी स्वदेश फर्केपछि फेरि बैठक बसेर समस्या समाधान गर्ने पक्षमा नेताहरु रहेको उनले बताए। 

देउवाले विधान मिचेर विभाग बढाएको, सदस्यता सम्बन्धी धारा निलम्बन गरेको भन्दै निर्णय सच्याउन पौडेल र सिटौला समूहले माग गरेका थिए। देउवाले छलफलबाटै निकास खोज्ने बताएका हुन्।