पृथ्वीनारायण शाहको भूमिका बुझ्नुपर्नेमा जोड

राष्ट्र र राष्ट्रियता भनेको के हो भनेर बुझ्न पृथ्वीनारायण शाहको चरित्र बुझ्नुपर्ने एक कार्यक्रमका वक्ताले बताएका छन् ।

२ सय ९८औं पृथ्वीजयन्ती तथा एकता दिवसका अवसरमा विश्व हिन्दू महासंघले आयोजना गरेको कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका प्राध्यापक एवं ब्राम्हण समाज नेपालका केन्द्रीय अध्यक्ष नारायणप्रसाद अधिकारीले अबका नयाँ पुस्ताले राष्ट्र र राष्ट्रियतालाई माया गर्ने हो भने शाहको सिङ्गो जीवनचरित्र अध्ययन गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘यो अभियान नगरेको भए आज नेपाल हुने थिएन । विस्तारवादी साम्राज्यवादी अङ्ग्रेजहरुले आफ्नो साम्राज्यमा मिलाउँदै जाने अभियान थालेका सन्दर्भमा अब अस्तित्व हराउँछ भनेर पृथ्वीनारायण शाहले एकीकरणको प्रयास थालेका हुन् ।’

कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष शङ्कर खरालले पछिल्लो समय आफ्नो राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृतिप्रति वितृष्णा, बेवास्ता र निरपेक्षता जुन बढ्दै गएको भन्दै यसले राष्ट्रलाई कमजोर बनाउने बताए ।

चिसाखोला वेद विद्याश्रमका मानार्थ संरक्षक मोक्षनाथ तिमिल्सिनाले सनातन धर्म र पृथ्वीनारायण शाह बीचको सम्बन्ध सबैले बुझ्न आवश्यक रहेको बताए ।

महासंघ कास्कीका अध्यक्ष पार्वता पौडेलले इतिहास बिर्सेर अघि बढ्न खोज्दा दुर्घटना हुने भन्दै तत्कालीन समयमा शाहले खेलेको भूमिका र एकताको सन्देशलाई सदा स्मरण गर्नुपर्ने बताइन् ।

विद्यार्थी प्रवीणचन्द्र बरालले युवामा राष्ट्र र राष्ट्रियताप्रतिको भावना जगाउन पनि शाहको योगदानलाई उजागार गर्नुपर्नेमा जोड दिए ।

विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता रहेको सो कार्यक्रममा शाहको शालिकमाथि हेलिकप्टरबाट पुष्पगुच्छा गरिएको महासंघ कास्कीका सचिव कमल पौडेलले जानकारी दिए ।