पृथ्वी जयन्तीको अवसरमा यही पुस २७ गते जिल्लाको गोरखा र पालुङटार नगरपालिका, भीमसेन थापा र सिरानचोक गाउँपालिकाले सार्वजनिक बिदा दिने भएका छन् ।
३ वटै स्थानीय तहले छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गर्दै नगरपालिकाले नगरपालिका मातहत र गाउँपालिकाले गाउँपालिका मातहतका कार्यालय बन्द रहने जनाएका छन् ।
आधुनिक नेपालका राष्ट्रनिर्माता तत्कालीन राजा पृथ्वीनारायण शाहको योगदानलाई उच्च कदरस्वरुप स्थानीय सरकारको तर्फबाट राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीलाई भव्यता साथ मनाउन सार्वजनिक बिदाको घोषणा गरिएकोे स्थानीय तहले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।
नेपाल एकीकरण थालनी भएको गौरवपूर्ण इतिहासलाई भुल्न नहुने भन्दै बिदा दिने निर्णय गरेको गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले जानकारी दिए ।

यता, झापाको २ स्थानीय तहले पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक बिदा दिएका छन् । हल्दीबारी गाउँपालिका र कचनकवल गाउँपालिकाले पृथ्वीजयन्तीको अवसरमा भोलि (आइतबार) सार्वजनिक बिदा दिएका हुन् ।
नेपालको एकीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने राष्ट्र निर्माता एवं विभूति पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा गाउँपालिकामा सार्वजनिक बिदा दिइएको हल्दिबारी गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनले जानकारी दिए ।
‘सार्वभौम सम्पन्न नेपाल निर्माणमा पृथ्वीनारायण शाहको योगदान उच्च छ’, उनले भने, ‘राष्ट्रिय उत्सव भएकाले पनि बिदा दिइएको हो ।’
यस्तै, झापाको कचनकवल गाउँपालिकाले पनि पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाको बैठकबाट निर्णय गरेर राष्ट्र निर्माताको सम्मान एवं जयन्ती मनाउन गाउँपालिकामा बिदा दिइएको गाउँपालिका अध्यक्ष अञ्जार आलमले बताए ।
यसैगरी नुवाकोटको विदुर नगरपालिकाले सार्वजनिक बिदा दिएपछि विभिन्न राजनीतिक दल, सरोकारवाला समिति तथा अन्य सङ्घसंस्थाले राष्ट्रिय एकता दिवसका रुपमा यस दिनलाई भव्यताका साथ मनाउँदै छन् ।
शाहको देहत्याग भएको स्थान देवीघाटमा पृथ्वी स्मारक संरक्षण समिति र नुवाकोट साततले दरबारमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिले शाहको सम्झना गर्दै विशेष कार्यक्रम गर्ने आयोजना गरेका छन् ।






