ला-ग्राण्डीमा विद्यार्थी बिदाई

पोखरा महानगरपालिका वडा नं. ८, सिमलचौरस्थित लाग्राण्डी इन्टरनेशनल कलेजमा २०१५ मा भर्ना भएका विद्यार्थीलाई विदाई गरिएको छ ।

४ वर्षको अध्ययन पूरा गरेका उनीहरूलाई बिदाई गरिएको कलेजले जनाएको छ । उनीहरू विविए, विसिए र विपिएचमा सातौं सेमिस्टरमा अध्ययनरत थिए । सांस्कृतिक कार्यक्रम समेत आयोजना गरी उनीहरूको विदाई गरिएको कलेजका प्राचार्य किरण केसीले जानकारी दिए ।

कलेजका प्राचार्य केसीको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका संस्थापक देवराज चालिसेले अध्ययन कहिल्यै पूरा नहुने भन्दै जीवनभर अध्ययनशिल हुन विद्यार्थीलाई सुझाव दिए । उनले अध्ययनमा लगनशील भएर अवसरले आफै खाज्ने स्पष्ट पार्दै विद्यार्थीको समुज्वल भविष्यको कामना गरे ।

कार्यक्रममा कलेजका प्राचार्य केसीले आफ्नो अध्ययनलाई निरन्तरता दिंदै एक सफल व्यक्तित्व बन्न सुझाव दिए । साथै उनले आफू जहाँ पुगे पनि, जे गरे पनि कलेजले गौरव गर्ने खालको कार्य गर्न आग्रह गरे । उनले बिदाई भएका विद्यार्थीमध्ये १६ जना पोखरा विश्वविद्यालयको डिन्स लिष्टमा परेको बताए ।

उक्त अवसरमा कलेजका विपिएच संकायका प्रमुख केशवराज अधिकारी, विविए संकायका प्रमुख सुरज गौडेल र विसिए संकायका प्रमुख दिपक केसीका साथै विद्यार्थीहरू सचिन पोखरेल, डिकसन लिम्बू र समुनले पनि बोलेका थिए । कार्यक्रममा विद्यार्थी स्वीकृती थापाले स्वागत र प्राध्यापक ज्ञानेन्द्र पौडेलले संचालन गरेका थिए ।

यसैबीच कलेजका पूर्व विद्यार्थी एवं प्राध्यापक विष्णु तिमिल्सिनाको संयोजकत्वमा भूपू विद्यार्थी मञ्च तदर्थ समिति गठन गरिएको छ । समितिमा सुनिल पाण्डे, सम्राट गुरुङ, रामप्रसाद तिमिल्सिना, रितेश थापा र सुशिल केसी सदस्य छन् ।