तनहूँमा लाग्ने हुस्सु पोखरामा, चिसो निकै कडा

आज शनिबार पोखरामा हुस्सु लागेको छ । बिहान ४ बजेदेखि हुस्सु लाग्न शुरु भएको थियो ।

अहिले पूरै पोखरा हुस्सुले ढाकेको छ । हुस्सुकै कारण पोखरा अन्धकारमय भएको छ । योसंगै कडा चिसो पनि भएको छ । चिसोले मानिसको चहलपहलमा कमि आएको छ ।

‘पहिला पहिला पोखरामा हुस्सु देखिदैनथ्यो । अहिले मौसममा निकै परिवर्तन आएछ’, ज्येष्ठ नागरिक नीलकण्ठ कोइराला भन्छन्, ‘पहिलो विजयपुर खोला पारी मात्र लाग्यो । अहिले त पोखरामै तनहूँतिर लाग्ने हुस्सु आएको छ ।’

यसले मानव स्वास्थ्य र तरकारी वालीमा असर पुर्याउने कोइरालाको तर्क छ ।

पोखरामा हिजो शुक्रबार पूर्वान्हपछि मौसममा सुधार आएर घाम लागेको थियो । बिहीबार साँझदेखि पानी पर्न छोडेको पोखरामा आज भने बाक्लो हुस्सु लागेर चिसो बढेको छ ।