अमेरिका र इरानलाई विवाद नबढाउन नेपालको आग्रह

नेपाल सरकारले पश्चिम एशिया क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमलाई नजिकबाट नियाल्दै र त्यसप्रति गहिरो चिन्ता र चासो व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति मार्फत सो क्षेत्रको शान्ति र स्थायित्वमा खतरा ननिम्त्याउन आह्वान गर्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको हो।

विज्ञप्तिमा भनिएको छ, ‘हामी सबै पक्षहरुलाई यस क्षेत्रमा तनाव बढाउने तथा शान्ति र स्थायित्वलाई खतरामा पार्ने खालका काम–कारबाही नगर्न आह्वान गर्छौं ।’

सबै विवाद शान्तिपूर्ण तरिकाले समाधान हुनुपर्ने नेपालको सैद्धान्तिक अडान रहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ।

अमेरिकाले गत साता इरानका एक जना शक्तिशाली जर्नेल कासिम सुलेमानीको इराकमा ड्रोन आक्रमण गरेपछि सुलेमानी हत्याको विरोधमा बुधबार बिहानै इरानले इराकस्थित अमेरिकी सैन्य शिविरहरुमा २२ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो।