नर्सिङका विद्यार्थीद्वारा आत्मदाहको चेतावनी

अदालतको आदेशले आफू अध्ययनरत कलेज नै खारेजीमा परेपछि ३० जना नर्सिङका विद्यार्थीले आत्मदाहको चेतावनी दिएका छन् । उनीहरूले आफूहरूको भविष्य अन्धकारमा पारिएको भन्दै सिंहदरबार अगाडि आत्मदाह गर्ने चेतावनी दिएका हुन् ।

रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गर्दै पीडित विद्यार्थी संघर्ष समितिले आन्दोलनको घोषणा गर्दै आत्मदाह सम्म गर्ने चेतावनी दिएका हुन् ।

‘हामीमाथि अन्याय हुँदा पनि सुनुवाई हुँदैन भने आत्मदाह गर्न वाध्य हुनेछौं ’, पीडित विद्यार्थी संघर्ष समितिकी संयोजक अनुष्का चौलागाईंले भनिन् ।

दुर्गम गाउँबाट नर्स बन्ने सपना बोकेर आएका ३० जना ठिमीस्थित चक्रवती हबी एजुकेशन एकेडेमी कलेज अफ नर्सिङ साइन्स कलेजमा भर्ना भएकामा अदालतको आदेशले खारेजीमा परेपछि परीक्षा दिनबाट वञ्चित भएका थिए ।

उनीहरूले सीटीइभीटीदेखि शिक्षा मन्त्रालयसम्म धाउँदा पनि परीक्षा दिन नपाएपछि २ वर्ष नर्सिङ अध्ययन खेर गएको थियो ।

पत्रकार सम्मेलनमा छात्रा अनुष्का चौलागाईँले कलेजको गल्तीको सजाय आफूहरूले पाउन नहुने बताइन् । सरकारले आफूहरूलाई न्याय नदिए कडा कदम चाल्न वाध्य हुने उनको भनाई थियो ।

पीडित विद्यार्थी संघर्ष समिति चक्रवर्ती नर्सिङ कलेजकी अध्यक्ष प्रेमिका शाही सिटिईभिटी र कलेज विचको विवादको कारण विद्यार्थीहरूले समस्या भोग्नु परेको जानकारी दिइन् ।

उनले कात्तिक ४ मा सर्वोच्चले कलेज खारेजीको फैसला गरेपछि शिक्षामन्त्रालय जादाँ शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उल्टै विद्यार्थीको गल्ती देखाएर गैर जिम्वेवारीपूर्ण जवाफ दिएको खुलाइन् ।

उनले भनिन्, ‘हामीलाई उल्टै गल्ती गरेको भनियो । राज्यको जिम्मेवार अधिकारीले हामीलाई थप पीडित बनाउनुभयो ।’

२०७५ सालमा भर्ना भएका ३० जना छात्राहरूको कलेजले बिचल्लीमा पारेपछि अधिकारका लागि निरन्तर लड्दै आएको शाहीले बताइन् ।

२२ साउनमा सिटिइभिटीलाई अदालतले स्टेअर्डर दिए पनि २०७६ सालमा कलेज खारेज भएको बताइन् । नर्सिङका छात्राहरूले दिन लागेको परिक्षा सिटिईभिटीले रोकेको खुलाइन् ।

टिभिटीसंग कुरा गर्दा समस्याको समाधान गर्ने आश्वासन दिए पनि समस्या भने जस्ताको तेस्तै रहेको प्रेमिका शाहीले बताइन् ।

शाहीले आफूहरूले हतारमा कलेजबाट सबै पैसा फिर्ता लिएपनि बितेको समय र अध्ययनमा खर्चिएको परिश्रम नफर्कने बताइन् ।

उनले भनिन्, ‘अब हामी अनसन, धर्ना हुँदै आत्मदाहको कदम चाल्न समेत बाध्य हुनेछौं ।’

विद्यार्थीको हक हितमा सक्रिय संगठनहरूले पनि आफूहरूलाई सहयोग नगरेको गुनासो गरिन् । शाहीले विद्यार्थी संगठनहरूलाई गम्भीर ढंगले समस्याको समाधान गरिदिन आग्रह गरेकी छिन् ।

पत्रकार सम्मेलनमा परीक्षा दिन नपाएर पीडामा परेका ३० जना विद्यार्थी उपस्थित थिए । उनीहरूले आँसु बगाउँदै आफूहरूलाई न्याय दिनका लागि संघर्षमा साथ दिन सबैसँग आग्रह गरेका थिए ।