ज्ञानेन्द्र शाही कुटपिट घटना : आरोपित सबै धरौटीमा छुटे

ज्ञानेन्द्र शाहीलाई कुटपिट गरेको आरोप लागेका ४ जना जनही १ लाख धरौटी बुझाएर तारेखमा छुटेका छन् । एक जना पक्राउ गरी प्रहरीले मुद्दा चलाएकोमा अन्य ३ जना भने स्वयम् अदालतमा हाजिर भएका हुन् ।

चितवन प्रहरीले भरतपुर ११ बस्ने वर्ष ३३ का अविरल पोखरेललाई कात्तिक १७ गते राति पक्राउ गरेको थियो । उनी १ लाख धरौटी बुझाएर छुटेका थिए ।

भरतपुर ४ का ईश्वर रेग्मी, भरतपुर १२ का सुशील केसी आइतबार जनही १ लाख धरौटीमा छुटेका छन् । नीति राई तथा माडी ३ का सन्तोष पनेरु यसअघि नै १ लाख धरौटीमा छुटेका हुन् ।

फरार रहेका ४ जनाको हकमा चितवन अदालतले ४ जना आरोपितको नाममा म्यादसहित पक्राउ पुर्जी जारी गरेको थियो । तर, आरोपितहरु स्वयम् अदालतमा फरक–फरक मितिमा हाजिर भएका छन् ।

असोज ११ गते शनिबार भरतपुर १० स्थित होटल ग्लोबलअगाडि शाहीमाथि निर्घात कुटपिट भएको थियो । भ्रष्टाचार र लुटतन्त्रविरूद्ध नागरिक खबरदारी कार्यक्रममा सहभागी हुन ११ गते नै चितवन आएका शाहीलाई रड, ढुङ्गा र इँटाले हानेर कुटपिट गरिएको हो ।

चौबीसकोठीको होटल ग्लोबलमा पार्किङ गरी राखिएको ना ३ ख ८४५८ नम्बरको माइक्रोबसभित्र बसेको अवस्थामा शाहीलाई मरणासन्न हुने गरी कुटिएको हो ।

शाही र अरु कसैले यस घटनामा उजुरी नदिए पनि चितवन प्रहरी आफैँ प्रतिवेदक भई ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको हो । घटनाको सिसीटिभी फुटेजलाई प्रहरीले आरोपित संलग्नको आधार बनाएको छ । शाहीको टाउको र हातमा गम्भीर चोट लागेकोमा उपचारका लागि सोही दिन काठमाडौँ पठाइएको थियो ।