सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय कन्चनपुरबाट खटिइएको टोलीले कैलालीको सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्षलाई घुससहित पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका-१२ मा रहेको सामुदायिक वन क्षेत्रबाट माटो झिक्न प्रयोग भएका डोजर र ट्याक्टर छाड्ने क्रममा सेवाग्राहीसँग १ लाख ६० हजार रकम लिँदै गरेको अवस्थामा अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंह पक्राउ परेका हुन् ।

कानीखोला पुल नजिकबाट माटो झिकिरहेको अवस्थामा सामुदायिक वनले नियन्त्रणमा लिएको डोजर र ट्याक्टर छाड्नका लागि घुस मागेको सूचनाको आधारमा थापा र सिंहलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।

रकमसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।